झापा । अवैधरुपमा ल्याउँदै गरेको मोबाइल (आइफोन)सहित एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक नुर आलम छन् ।

 

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर १२ स्थित धुलाबारी बस स्ट्याण्डबाट इटहरी जाने बसमा चढ्न लागेको अवस्थामा आलमलाई पक्राउ गरेको हो ।

 

भारत बंगालका ६५ वर्षीय आलमको साथबाट प्रहरीले करिब ५ लाख ४० हजारबराबरको भन्सार छली ल्याइएका १३ थान मोबाइल बरामद गरेको हो ।

 

उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि बरामद मोबाइलसहित मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

 

बरामद गरिएको मोबाइलहरुमा आइफोन प्राृे म्याक्स १ थान, आइफोन १२ प्रो २ थान, आइफोन १२ ३ थान, आइफोन ११ ६ थान र आइफोन एक्सआर १ थान रहेका छन् ।