विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा ६० करोड रुपैयाँले बढी हो ।

 

आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले समावेशी, समन्यायिक र दिगो विकासको लक्ष्यसहित बजेट ल्याइएको जानकारी दिए ।

 

कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिईएको रानाले जनाएका छन् । कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ३५ अर्ब २७ करोड ९३ लाख बजेट विनियोजना गरिएको थियो ।

 

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै कृषि, उद्योग तथा सहकारी क्षेत्रमा २ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

पर्यटन वर्षका निम्ति पुनः १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । पर्यटन, वन तथा वातावरण क्षेत्रका निम्ति जम्मा २ अर्ब ९७ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री मगरले जानकारी दिए ।