विराटनगर । पूर्वका तीन जिल्लामा बिजुलीका ट्रान्सफर्मर चोरीको शृंखला बढ्दै गएपछि नेपाल विद्युत् प्राधिकरण हैरान बनेको छ । पछिल्लो तीन महिनामा सुनसरी, झापा र मोरङमा छ वटा ट्रान्सफर्मर चोरी भइसकेका छन् ।
चोरीमा संलग्न अहिलेसम्म पक्राउ परेका छैनन्, जसका कारण नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालयमातहत कार्यलयका प्रमुख हैरानमा परेका छन् । प्रदेश प्रमुख राजीवकुमार सिंहका अनुसार बस्ती नभएको क्षेत्रमा चोरी हुने गरेका छन् । शाखा लाइन विस्तार गरेर राखिएका खेती भएको क्षेत्रमा ट्रान्सफर्मर चोरी भएका हुन् ।
प्रमुख सिंह चोरीमा संलग्नहरू ट्रान्सफर्मर र विद्युत्को ज्ञान भएका व्यक्ति रहेको अनुमान गर्न सहजै सकिने बताउँछन् । नुभयो । चोरले ट्रान्सफर्मरको खोल छोडेरभित्रको तामामात्रै झिकेर लाने गरेका छन् ।
एउटा ट्रान्सफर्मरभित्र एक सय केजी तामा हुने गरेको छ । तामा प्रतिकेजी दुई हजार रुपैयाँ पर्ने सिंहले जानकारी दिए । प्राधिकरणले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई चोरीमा संलग्नको पहिचान गरी नियन्त्रणपछि कानुनी कारबाहीका लागि निवेदनसमेत दिइएको छ ।
तथ्याङ्कअनुसार वैशाख ३ गते सुन्दरहरैँचा २, जोगीहारेको ५० केभिए ट्रान्सफर्मर चोरी भएको थियो । जेठ २२ गते रङ्गेली ७ को ५० केभिए, जेठ २३ गते रङ्गेली १, जिरायत टोलको एक सय केभिए ट्रान्सफर्मर चोरी भएको थियो ।
यसैगरी, झापाको धरमपुर खानेपानी शिवसताक्षी १ मा रहेको एक सय केभिए ट्रान्सफर्मर जेठ ३१ गते, सुनसरीको वराहक्षेत्र ९ राजाबासको एक सय केभिए ट्रान्सफर्मर असार ९ गते चोरी भएको हो । यसअगाडि वैशाख २० गते मोरङको ग्रामथान ५, झपटाटोलमा समेत ट्रान्सफर्मर चोरिएको थियो ।
प्रदेश प्रमुख सिंहका अनुसार एउटा एक सय केभिएको ट्रान्सफर्मर चोरी हुँदा १० देखि १२ लाख रुपैयाँ क्षति हुन्छ । ५० केभिएको छदेखि सात लाख नोक्सान हुने गरेको समाचार गोरखापत्र अनलाइनमा छ ।