झापा । बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायी सदस्य राहत कोषको कार्यविधि सार्वजनिक गरेको छ । एक वर्षअघि कार्यविधि बनाएर संघले एक करोड रुपैयाँबराबरको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ व्यवसायी सदस्य राहत कोष स्थापना गरेको थियो ।

 

बिहीबार संघले पत्रकार सम्मेलन आयोजना गर्दै कोष स्थापनाको उद्देश्यसहितको राहत कोषका लागि तयार पारिएको कार्यविधि सार्वजनिक गरेको हो । संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कोषका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’ले कोषमा हालसम्म जम्मा भएको रकम सार्वजनिक गरेका थिए ।

 

उनका अनुसार व्यवसायिक सदस्य राहत कोषमा २० लाख ४५ हजार १९१ रूपैयाँ जम्मा भएको छ । संघका विशिष्ट सदस्य निर्मल भट्टराईले स्वागत गरेको कार्यक्रममा कार्यविधि कोषाध्यक्ष युवराज निरौलाले वाचन गरेका थिए ।

 

व्यावसायिक सदस्य राहत कोषमा हालसम्म ५६ जनाले सहयोग गरेको बताइएको छ । व्यवसायीहरूले आफ्नो जन्मदिन, वैवाहिक वर्षगाठ, पितृको स्मृतिलगायतमा राहत कोषमा रकम प्रदान गर्दै आएको अध्यक्ष न्यौपानेको भनाई छ ।

 

राहत कोषको ब्याजबाट प्रकृतिक प्रकोप, व्यवसायीलाई प्राणघातक रोग लागेको खण्डमा सहयोग गरिने बताइएको छ । कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।