झापा । झापाको बिर्तामोडमा ‘यहाँ छ’ (yaha chha) एप्स सार्वजनिक गरिएको छ । नेपालको पहिलो फ्रिलेन्सिङ एपको रुपमा ‘यहाँ छ’ एपलाई दाबी गरिएको छ ।
व्यवसायी र फ्रिलेन्सरलाई जोड्ने माध्यमको रुपमा सेवा दिने गरी सो एप निर्माण गरिएको हो । व्यवसायीहरुलाई दक्ष जनशक्ति र सीप भएका युवाहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले सो एप निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ ।
डिजिटल माध्यम अर्थात अनलाइन सर्भिस दिनेलगायतका अन्य धेरै सेवासहितको ‘यहाँ छ’ एप्स सोमबारदेखि सञ्चालनमा ल्याइएको हो । रुट देब्स सफ्टवेयर डेभलोपमेन्ट प्रालिले ‘यहाँ छ’ एप्स सञ्चालनमा ल्याएको हो । ‘यहाँ छ’ एप्सको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी हुन् ।
कम्पनीका सल्लाहकार रवि चापागाँईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कम्पनीका नविन भण्डारीले गरेका थिए । कम्पनीको उद्देश्य, सेवासुविधा तथा आगामी योजनाका विषयमा कम्पनीका रविन थापाले प्रस्ट पारेका थिए । एप निर्माणकर्ता थापाले करिब दुई वर्ष लगाएर आफूहरुले सो एप निर्माण गरेको बताउँदै एपको उपयोगिताका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा नगर प्रमुख प्रसाई ,अर्जुनधारा ११ का वडा अध्यक्ष खगेन्द्र इङनाम, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बंगलादेशी नागरिक एलिस खानले लन्च गरिएको एपको सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रमेश तिवारीले गरेका थिए ।