झापा । उपाधिको दाबेदार टोली शनिश्चरे एफसी अर्जुनधारा बुद्धशान्ति गाउँपालिका १ मा जारी होक्से च्यालेञ्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

स्थानीय त्रिभुवन माविको खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा हल्दिबारीको जलथल एफसीमाथि ४-१ गोलअन्तरको जित निकालेर शनिश्चरेले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

 

शनिश्चरेका लागि निमा तामाङले ह्याट्रिक गर्दा पुजन राईको नाममा एक गोल दर्ता भएको छ । यस्तै, हल्दिबारीका लागि कप्तान सञ्जोक भुजेलले सान्त्वना गोल गरेका हुन् ।

 

खेलको प्लेयर अफ दी म्याच शनिश्चरेका ह्याट्रिककर्ता निमा तामाङ भए । उनले नगद एक हजार पाँच सय पाए । होक्से युवा क्लबले आयोजना गरेको प्रतियोगितामा भोलि (सोमबार) न्यू स्टार क्लब खोपबाडी (बिर्तामोड) र हिमाली युनाइटेड भद्रपुरबीच खेल हुनेछ ।

 

असोज ११ गते हुने फाइनल खेलको विजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ५० हजारमा चित्त बुझाउनु पर्नेछ । अन्य विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।