झापा (एजेन्सी) । टी-२० विश्वकप एशिया छनोटको सुपर ६ मा कतारलाई हराएसँगै नेपाल टी-ट्वान्टी विश्वकप नजिक पुगेको छ । सोमबार भएको खेलमा नेपालले कतारलाई ५ रनले हराएको हो ।
टस हारेर व्याटिङको मौका पाएको नेपालले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा एक सय ४२ मा अल आउट भयो ।
सन्दीप लामिछानेले ३ ओभर ५ बल बलिङ गर्दा १८ रन खर्चेर ५ विकेट लिए । टी-२० अन्तर्राष्ट्रिय एकै खेलमा ५ विकेट लिएको सन्दीप लामिछानेको यो दोस्रो पटक हो । नेपालले २० ओभरमा ९ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो ।
सुपर ६ मा नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपालले यूएईलाई १ रनले हराएको थियो । सुपर ६ मा नेपाल र ओमानको समान ६ अंक छ ।
नेपालले भोलि ओमानसँग खेल्नेछ । भोलिको खेल विश्वकप छनोटका लागि निर्णायक बन्नेछ । नेपालले अन्तिम खेल आउँदो शुक्रबार सामाओसँग खेल्नेछ ।