खुदुनबारी (झापा) । बुद्धशान्तिको होक्से र भद्रपुर अर्जुनधारा २ स्थित वडा खेलमैदानमा जारी एसवाइएस प्रथम खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो खेलमा होक्से युवा क्लबले दहिझोडा एफसीमाथि सानदार जित निकाल्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो । होक्सेको जितमा सागर रसाइली एक्लैले ४ गोल गरे ।
पहिलो हाफको २१, ३० र दोस्रो हाफको २५ र २७औँ मिनेटमा गोल गरेका होक्सेका सागर प्लेयर अफ दी म्याच बने । उनलाई आयोजक क्लबका अध्यक्ष राजा साँवा र प्रमुख अतिथि अर्जुनधारा ३ का वडाध्यक्ष सिताराम भद्टराई तथा वडा सदस्य प्रेम उपरकाेटीले नगद पुरस्कार प्रदान गरे ।
यस्तै, दोस्रो खेलमा भद्रपुरको ब्रदर्स युनाइटेडले अर्जुनधाराको शनिश्चरे बहुमुखी एफसीमाथि २-० गोलको जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो ।
खेलको ५०औँ मिनेटमा भद्रपुरका लागि सरोज कार्कीले पहिलो गोल गरे । यस्तै, ५४औँ मिनेटमा सविन थापा मगरले गोल गर्दै अग्रता दिलाएर जित सुनिश्चित गरेका हुन् ।

खेलको प्लेयर अफ दी म्याच पहिलो गोलकर्ता भद्रपुरका सरोज कार्की भए । उनलाई प्रमुख अतिथि भट्टराई, बोर्ड सदस्य चन्द्रा तामाङ, अर्जुनधारा २ का वडा सदस्य बलबहादुर समाल मगर र शान्ति वनकी उपाध्यक्ष लक्ष्मी कन्दङ्वालगायतले पुरस्कार प्रदान गरेका थिए ।
बुधबार झापा गाउँपालिकाको जुनतारा एफसीले अर्जुनधाराको शनिश्चरे एफसीसँग प्रतिस्पर्धा गर्दा अन्तिम खेल इलामको नव विहानी एफसीले आरबीएम युनाइटेड एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
झापा र इलामका १६ वटा टिम सहभागी भएको प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । च्याम्पियन बन्ने क्लबले नगद ५० हजारसहित ट्रफी पाउँदा उपविजेताले नगद ३० हजारमा चित्त बुझाउनु पर्ने आयोजक क्लबका अध्यक्ष साँवाले जानकारी दिए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार ५ सय प्रदान गरिँदा सर्वाधिक गोलकर्ता, बेस्ट फरवार्ड, बेस्ट डिफेन्स र राइजिङ प्लेयरलाई जनही २ हजार ५ सयसहित ट्रफी प्रदान गरिने आयोजक क्लबका सचिव शिव भट्टराईले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अफ दी म्याच बन्ने खेलाडीले नगद एक हजार पाउनेछ ।