खुदुनाबारी (झापा) । शनिश्चरे एफसी अर्जुनधारा र नव विहानी एफसी इलाम अर्जुनधारा २ स्थित वडा खेलमैदानमा जारी एसवाइएस प्रथम खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो खेलमा शनिश्चरे एफसीले जुनतारा एफसी झापा गाउँपालिकालाई २-० गोलले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो । शनिश्चरेको जितका लागि श्याम मूर्मूले खेलको २४औँ र पेमा तामाङले ४९औँ मिनेटमा गोल गरेका हुन् ।
खेलको प्लेयर अफ दी म्याच शनिश्चरेका श्याम मूर्मू भए । उनलाई अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, २ नम्बर वडाका सदस्य शर्मिला लिम्बू, आयोजक क्लबका अध्यक्ष राजा साँवालगायतले नगद पुरस्कार प्रदान गरे ।

यसैगरी, आजै भएको दोस्रो खेलमा नव विहानी क्लब माइ नगरपालिका इलामले टाइब्रेकरमा जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो । आरबीएम युनाइटेडसँग १-१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।
आरबीएमविरुद्ध इलामले ५-३ गोलअन्तरबाट जित निकालेको हो । निर्धारित समयमा इलामका जनम लिम्बू र आरबीएमका मर्कस किस्कुले ११ गोल गरेका थिए । खेलको प्लेयर अफ दी म्याच इलामका जनम लिम्बू भए ।
उनलाई प्रमुख अतिथि अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, नेपाली कांग्रेस अर्जुनधारा २ का अध्यक्ष रमेश फूयल, शान्ति सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष लक्ष्मी कन्दङ्वा, आयोजक क्लबका सचिव शिव भट्टराईलगायतले पुरस्कार प्रदान गरे ।
बिहीबार सालबारी एफसीले खुदुनाबारी एफसीसँग तथा थोप्ले विरान धुलाबारीले सातकटेरी एफसीसँग अन्तिम प्रिक्वाटरफाइनल खेल खेल्नेछ । झापा र इलामका १६ वटा टिम सहभागी भएको प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ ।
च्याम्पियन बन्ने क्लबले नगद ५० हजारसहित ट्रफी पाउँदा उपविजेताले नगद ३० हजारमा चित्त बुझाउनु पर्ने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार ५ सय प्रदान गरिँदा सर्वाधिक गोलकर्ता, बेस्ट फरवार्ड, बेस्ट डिफेन्स र राइजिङ प्लेयरलाई जनही २ हजार ५ सयसहित ट्रफी पाउने छन् ।