खुदुनाबारी (झापा)। खुदुनाबारी एफसी र सातकटेरी एफसी झापाको अर्जुनधारा २ स्थित वडा खेलमैदानमा जारी एसवाइएस फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो खेलमा सालबारी एफसीलाई ३-० गोलअन्तरले पराजित गर्दै खुदुनाबारी क्वाटरफाइनलमा पुगेको हो । खुदुनाबारीको जीतका लागि खेलको १८औं र ४०औं मिनेटमा रमेश क्षेत्रीले गोल गरे भने ३७औं मिनेटमा चेतन घतानीले थप एक गोल गरेका हुन् ।
खुदुनाबारीका रमेश क्षेत्री प्लेयर अफ दी म्याच घोषित भए । उनलाई आयोजक सचेत युवा समूहका अध्यक्ष राजेन्द्रकुमार साँवा, दाता बिनिता थापालगायतले नगद एक हजार प्रदान गरे । उक्त नगद पुरस्कार जीवन लिङदेनले सौजन्य गरेका थिए ।
त्यसैगरी दोस्रो खेलमा थोप्ले बिरान फुटबल क्लब मेचीनगरलाई २-० गोल अन्तरले पराजित गर्दै सातकटेरी क्वाटरफाइनल प्रवेश गरेको हो ।सातकटेरीको जितमा २८औं र २९औं मिनेटमा विजय राई र मनोज राईले गोल गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच विजय राई भए । उनले नगद एक हजार पाए । नगद पुरस्कार स्थानीय भेषराज राईले सौजन्य गरेका थिए ।
शुक्रबारदेखि क्वाटरफाइनलका खेलहरु हुनेछन् । पहिलो खेल नमूना युवा क्लब इलाम र होक्से युवा फुटबल क्लब बुद्धशान्ति तथा दोस्रो खेलसीएम क्लब सेतीपानी अर्जुनधाराले र ब्रदर्स युनाइटेड फुटबल क्लब भद्रपुरसँग प्रतिस्पर्धा गर्नेछ ।