एकतप्पा (इलाम) । इलामको फाकफोकथुम ७ स्थित दोकान डाँडामा जारी एकतप्पा गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबारको खेलबाट हाङमाचुली एफसी र फाल्गुनन्द-पितामरु-डिएक्सएन क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 

स्थानीय जनकल्याण माविको मैदानमा आज भएको पहिलो खेलमा हाङमाचुली एफसीले कोलबोटे एफसीमाथि २-१ गोलअन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।

 

हाङमाचुलीको तर्फबाट सन्देश लिम्बू र मनिष लिम्बूले गोल गरेका हुन् । कोलबोटेका लागि शेखर राईले सान्त्वना गोल फर्काए । खेलको प्लेयर अफ दी म्याच मनिष लिम्बू घोषित भए । उनलाई फाकफोकथुम ७ का वडाध्यक्ष छत्रबहादुर योङहाङले नगद प्रदान गरे ।

 

यस्तै, दोस्रो खेलमा फाल्गुनन्द-पितामरु-डिएक्सएनले फक्ताङलुङ एफसी मिक्लाजुङ पाँचथरविरुद्ध संघर्षपूर्ण जित निकालेको हो । फाल्गुनन्द-पितामरु-डिएक्सएन सडनडेथमा भाग्यमानी बन्यो ।

 

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४-४ गोलवको बराबरी भएपछि खेल सडनडेथमा पुगेको हो । जसमा फाल्गुनन्द(पितामरु(डिएक्सएन ७-६ गोलअन्तरमा विजयी बन्यो

 

खेलको प्लेयर अफ दी म्याच फाल्गुनन्द-पितामरु-डिएक्सएनका गोलरक्षक उत्तम कार्की भए । उनलाई आयोजक क्रिएटिभ सोसिएल स्पोर्टिङ क्लबका अध्यक्ष पदम योङहाङले नगद पुरस्कार प्रदान गरे ।

 

प्रतियोगिताको फाइनल खेल कात्तिक ४ गते हुनेछ । विजेताले १ लाख २६ हजार ८९ रुपैयाँ पाउँदा उपविजेताले नगद ६६ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

 

यसैगरी, सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले नगद २ हजार २ सय र ट्रफी पाउने आयोजकले जनाएको छ । भोलि अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता चुलाचुली एफसीले चौबन्दी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।