काठमाडौँ (एजेन्सी) । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
पर्सि सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
यसैबीच, क्यानले एनपीएलको दोस्रो संस्करणबाट ३५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने अनुमान गरेको छ । प्रायोजकबाट १५ करोड ३० लाख, सहभागी टोलीहरूबाट ९ करोड, ओटीटीबाट ५ करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने क्यानको अनुमान छ ।
पत्रकार सम्मेलनमा प्रतियोगिताको पुरस्कार रकमसमेत घोषणा भएको छ । यो संस्करणमा पुरस्कार रकममा घटबढ भएको छैन । क्यानका अनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
एनपीएलको उद्घाटन खेलमा पर्सि साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ । यस पटक एनपीएल फ्लड लाइटमा पनि खेलाइनेछ ।
प्रतियोगितामा जनकपुर, काठमाण्डौ, चितवन राइनोज, कर्णाली याक्स, विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स गरी ८ वटा टोली सहभागी छन् ।