शनिश्चरे । झापाको अर्जुनधारा १ स्थित सिस्नेमा यसअघि हुने भनिएको जिल्लास्तरीय खुल्ला कराते प्रतियोगिता माघ ३ गते हुने भएको छ । सिस्ने कराते डोजोको आयोजनामा असोज ११ गते हुने भनिएको एकदिने प्रतियोगिता जेनजीको आन्दोलनले अनिश्चित बनाएको थियो ।
झापा जिल्लाका २५० जना खेलाडी सहभागी हुने प्रतियोगिताको दोस्रो संस्करणबारे भदौ २१ गते पत्रकार सम्मेलन गरी खेल संयोजक तथा वडा सदस्य मदन लिमेलले प्रतियोगिता सम्पन्न गर्न ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताएका थिए ।
प्रतियोगितामा २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तौलसमूहमा प्रतिष्पर्धा गराइने छ । प्रतियोगितामा जिल्लाका २५ वटा डोजोका खेलाडी सहभागी हुने बताइएको छ ।
आयोजक सिस्ने कराँते डोजोकी प्रमुख मथुरा तामाङले प्रतियोगिता भब्यरुपमा सम्पन्न गर्न यथासक्य सहयोगको अपेक्षा गरिएको बताएकी छन् । त्यसबेला नै शनिश्चरेको अर्जुनधारा ज्वेलर्सका सञ्चालक सूर्य लोहारले महिला र पुरुष दुवै विधाका बेस्ट फाइटरलाई नगद पुरस्कार प्रायोजन गर्ने घोषणा गरेका थिए ।