झापा । झापाका पाँचवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका कसैले उम्मेदवारी फिर्ता नलिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।

 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका ५ निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ९० जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

 

निर्वाचन कार्य तालिकाअनुसार शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिनुपर्ने थियो। तर, कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिसकेको जनाइएको छ।

 

भद्रपुर, मेचीनगर, अर्जुनधारा, कनकाई र दमकका निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ। ती कार्यालयहरूमा १५ महिलासहित ९० जनाको उम्मेदवारी परेको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दिएको क्षेत्र झापा ५ मा सबैभन्दा बढी २४ जनाले उम्मेदवारी दिएका छन्।

 

ती क्षेत्रमा ९ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। त्यस्तै झापा क्षेत्र नम्बर १ मा सबैभन्दा कम १५ जनाले उम्मेदवारी दिएका छन् । झापा २ मा १८ जनाले, झापा ३ मा १७ जनाले र झापा ४ मा १६ जनाले उम्मेदवारी दिएका छन्।

 

जिल्लामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेको छ। जुन २०७९ सालको निर्वाचनभन्दा ५० हजार २२६ मतदाताले बढेको हो । जिल्लामा २८५ मतदान स्थलमध्ये ४३ वटा सामान्य, संवेदनशीलमा १४७ र अति संवेदनशीलमा ९५ वटा रहेको जनाइएको छ।