अर्जुनधारा (झापा) । भद्रपुर नगरपालिकाको टोली उत्कृष्ट पुनरागमन गर्दै यहाँ जारी झापा जिल्ला पालिकास्तरीय यू-१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा खेलमैदानमा आज भएको अन्तिम क्वाटरफाइनलमा कनकाई नगरपालिकालाई सडनडेथमा ६-५ गाेलअन्तरले पराजित गर्दै भद्रपुरले अन्तिम चारमा स्थान बनाएको हो ।
पहिलो हाफमै कनकाईसँग २-० गोलअन्तरले पछि परेको अवस्थालाई नाटकीय ढंगबाट पुनरागमन गर्दै भद्रपुरले सडनडेथमा बाजी मारेको हो । खेलको ७ मिनेटमै भद्रपुरका आदित्य बानियाँले गोल गरेर अग्रता बनाएका थिए ।
यस्तै, ५१औँ मिनेटमा आदित्यले नै गोल गरेर कनकाईको अग्रता दोब्बर बनाए । तर, ५८औँ मिनेटमा पाएको पेनाल्टीमार्फत भद्रपुरका रतन किस्कुले गोल गरेर खेलमा फर्काउने प्रयास गरे ।
खेल सकिन करिब ३० सेकेण्ड बाँकी रहँदा भद्रपुरका विप्लव लिम्बूले आकर्षक हेडर गोल गरेपछि टोली खेलमा फर्किएको हो । उपाधिको दाबेदार मानिएको कनकाई अन्तिम मिनेट सम्हालिन नसक्दा बाहिरिएको छ ।
टाइब्रेकरमा पनि ५-५ गोल भएपछि सडनडेथमा कनकाईका अनिष दियालीको प्रहार भद्रपुरका गोलरक्षक शालिक सिवाकोटीले रोकेपछि भद्रपुरले जित दर्ता गरेको हो । अन्तिम क्षणमा बराबरी गोल गरेका विप्लव प्लेयर अफ दी म्याच बन्दै नगद २ हजार ५ सय पाउन सफल भए ।
शनिश्चरे फुटबल क्लबको आयोजना तथा अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजनामा भएको प्रतियोगितामा भोलि (शुक्रबार) कमल गाउँपालिकाले बुद्धशान्ति गाउँपालिकासँग पहिलो सेमिफाइनल खेल खेल्नेछ ।
प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ । ९ वटा पालिकाको टिम सहभागी रहेको प्रतियोगिताको विजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउने छ । उपविजेताले नगद ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।
सर्वोत्कृष्ट बन्ने खेलाडीले नगद ७ हजार पाउँदा विधागत विजेता खेलाडीले जनही ५-५ हजार पाउने प्रतियोगिताका संयोजक टेकराज तिलिङले जानकारी दिए ।