अर्जुनधारा । अर्जुनधारामा आइतबारदेखि नगरस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । अर्जुनधारा १ स्थित सिंहदेवी माविमा प्रतियोगिताको उद्घाटन भएको हो ।

 

चारदिन सम्म सञ्चालन हुने प्रतियोगिताको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देनले उद्घाटन गरेका छन् । प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, मार्सलआर्टस, ज्याभलिङ, सटपुट र कबड्डीलगायतका विधामा ४ सय जना खेलाडीले सहभागिता जनाउने नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।

 

नगरभरि सञ्चालनमा आएका २८ वटा माध्यमिक विद्यालयका खेलाडीले ६६ स्वर्ण, ६६ रजत र १०२ कास्य पदकका लागि प्रतियोगितामा प्रतिष्पर्धा गर्ने भएका छन् । नगरबाट छनौट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् ।

 

लगातार तीन पटक जिल्ला प्रथम भएको अर्जुनधारालाई यो वर्ष पनि त्यो साख जोगाउने चुनौती रहेको छ । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख गोम्देनले खेललाई मनोरञ्जनको साधन मात्र नठानेर व्यावसायिकताको दर्जा दिनुपर्ने बताए । उनले खेलाडीलाई उच्च मनोबलका साथ स्वच्छ प्रतिष्पर्धा गर्न पनि सुझाव दिएका छन् ।

 

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, वडा न १ का अध्यक्ष उपेन्द्र बस्नेत, ६ का अध्यक्ष हरिश्चन्द्र बाँस्तोला, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

 

प्रतियोगिताअन्तर्गत सिंहदेवी माविको मैदानमा भलिबल, कबड्डी, मार्सलआर्टस्का खेल हुनेछन् भने एथलेटिक्स, ज्याभलिन थ्रो र सटपुट मदनपुरको सांस्कृतिक खेलमैदानमा सञ्चालन भइरहेका छन् ।