बिर्तामोड । झापा ११ फुटबल क्लबले एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको पहिलो खेलमै विजयी सुरुवात गरेको छ ।

 

नेपाल पुलिस एफसीसँग १-० गोलले पछि परेको अवस्थामा झापा ११ ले कमब्याक गर्दै झापाको डोमालाल राजवंशी रंगशालामा आजदेखि सुरु गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । झापाले पुलिसमाथि २-१ को नतिजा निकाल्यो । झापाका लागि शिशिर लेखी र राजेश दाहालले १-१ गोल गरेका थिए ।

 

खेलको १२औँ मिनेटमा पुलिसले खेलमा अग्रता लिएको थियो । पुलिसका लागि धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले वान टचमा गोल गरेका थिए । झापाले पहिलो हाफको इजुरी समयमा गोल फर्काएको हो ।

 

झापाका लागि राजेश दाहालले गरेको प्रहारलाई डिबक्समा अनमार्क रहेका शिशिर लेखीले गोल गर्न सफल भए । झापाका लागि निर्णायक गोल भने राजेश दाहालले गरे । ५९औँ मिनेटमा शिशिर लेखीको फ्रिकिकलाई दाहालले पोस्टको दिशा दिएका हुन् ।

 

खेलको प्लेयर अफ द म्याच विजेता टिम झापाका राजेश दाहाल भए । उनले नगद २५ हजार पुरस्कार पाए । भोलि आइतबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।

 

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाइ स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

 

यसैबीच, प्रतियोगिताको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरेकी थिइन् । आयोजक अध्यक्ष केदार गिरीले झापा गोल्डकपले नेपालीलाई एकताको सुत्रमा बाँध्ने माध्यम भएको दाबी गरे ।

 

प्रतियोगिता उद्घाटन समारोहमा डोमालाल राजवंशी रंगशालाका जग्गादाता परिवारमध्ये छोरी सम्पति राजवंशीलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै, डोमालाल राजवंशीको शालिक अनावरण गरिएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष विनोद बस्नेतको सम्मानमा पूर्वेली युथ क्लबले मार्चपास गरेको थियो ।