झापा । मौन अवधिको पहिलो दिन बिहानै काठमाडौं उपत्यकामा दुई वटा सवारीमा आगजनी भए भने विभिन्न माध्यमबाट निर्वाचन बिथाेल्न खाेजेकाे आराेपमा १४२ जना पक्राउ परेका छन् ।

 

सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भयो । आगजनी भएको ठाउँमा दुर्गा प्रसाईं समूहको पर्चा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईको भनाइ छ ।

 

आगजनीमा संलग्न दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ नै स्थायी ठेगाना भएका ५५ वर्षीय कृष्ण मिजार छन् ।

 

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूलाई चन्द्रागिरिबाट पक्राउ गरिएको हो । उनका अनुसार पक्राउ परेका दुवै जना प्रसाईं समूहकै कार्यकर्ता हुन् ।

 

प्रसाईं समूहलाई निर्वाचन बहिष्कारको समूहमा प्रहरीले रोखेको थियो । प्रसाईंसँगै विभिन्न १२ वटा समूहलाई निर्वाचनमा सुरक्षा चुनौती बनाउन सक्ने भन्दै प्रहरीले निगरानीमा राखेको केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले बताउँछन् ।

 

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल र गोलीसहित गोरखाको पालुङटार नगरपालिका–९ घर भएका ३१ वर्षीय आयन सेढाइलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

 

अहिलेसम्म निर्वाचन बिथोल्न खोज्ने १४२ जना पक्राउ परेका छन् । प्रहरी प्रवक्ता काफ्लेका अनुसार देशभरबाट १४२ जनालाई पक्राउ गरिएको हो । हिजो सोमबार मात्रै ९ जना पक्राउ परेका थिए ।

 

पक्राउ परेकामध्ये अहिले ७६ जना हिरासतमा छन् । बाँकी ६६ जना भने छुटेका छन् । चुनाव हुँदैन भन्ने ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

 

सामाजिक सञ्जालमार्फत अफवाह, भ्रम फैलाएको, निर्वाचन विरोधी काम गरेको, आचारसंहिता उल्लघंन गरेका जस्ता घटनामा संलग्न भएको आरोपमा प्रहरी प्रधान कार्यालयमा रहेको केन्द्रीय निर्वाचन सेलले ३२ जनालाई पक्राउ गरेको छ ।

 

केन्द्रीय निर्वाचन सेलअन्तर्गत साइबर सेलहरू खडा गरिएको छ । यही साइबर सेलले सातै प्रदेशबाट ३२ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये १७ जना छुटेका छन् भने १५ जनालाई हिरासतमै राखेर अनुसन्धान अघि बढाइएको छ ।