जोरपोखरी । आयोजक फिदिम भेट्रान्स क्लब र झापाको रेड स्टार एफसी पाँचथरको हिलिहाङ ६ स्थित जोरपोखरी माविको खेलमैदानमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित फिदिम भेट्रान्स गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् ।
दुवै टोलीले विपक्षी टिममाथि गोलवर्षा गर्दै उपाधि भिडन्तमा पुगेका हुन् । गतवर्ष पनि यी दुई टोलीले फाइनलमा स्थान बनाएका थिए । फाइनल खेलमा भने झापाले बाजी मार्दै उपाधि रक्षा गरेको थियो ।
पहिलो खेलमा आयोजक फिदिमले तेह्रथुमको आठराई भेट्रान्सलाई ४-० गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । फिदिमका लागि सुदिप श्रेष्ठले २ गोल गरे । उनले खेलको ३५औँ र ५६औँ मिनेटमा गोल गरेका हुन् ।
यस्तै, जलकुमार गुरुङले खेलको ३७औँ र बुद्ध चेम्जोङले खेलको ६२औँ मिनेटमा गोल गरे टिमलाई फाइनलमा स्थान सुरक्षित गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच सुदिप श्रेष्ठ भए । उनले नगद २ हजार ५ सय प्राप्त गरे ।
यसैगरी, अन्तिम सेमिफाइनल खेलमा झापाले इलामको फेमे गुरु भेट्रान्समाथि ५-० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
झापाका लागि खेमराज पोख्रेलले ह्याट्रिक पूरा गरे । उनले खेलको ८, ३६ र ७०औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् ।
यसैगरी, विशाल राईले ३०औँ र बाबु धिमालले ४७औँ मिनेटमा गोल गरेर फराकिलो गोलअन्तर निकालेका हुन् । खेलको प्लेयर अफ दी म्याच झापाका कप्तान भुपेन लिम्बू भए । उनले नगद २ हजार ५ सय पाए ।
फाइनल खेल भोलि शनिबार हुनेछ । गोल्डकपमा ८ टोली सहभागी थिए । विजेताले नगद १ लाख २५ हजारसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ७५ हजारमा चित्त बुझाउने छ ।