भद्रपुर । झापाको भद्रपुरमा आयोजित प्रथम चन्द्रगढी महिला गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हात पारेको छ । अर्को विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० गोलअन्तरले हराउँदै सशस्त्रले उपाधि हात पारेको हो ।

 

उपाधिसँगै एपिएफले नगद ११ लाख र ट्रफी पाएको छ । आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । सशस्त्रलाई उपाधि दिलाउन एकमात्र गोल रश्मिकुमारी घिसिङले गरिन् । खेलको ७२औँ मिनेटमा कप्तान अनिता बस्नेतले डिबक्समा मिलाइदिएको पासलाई अनमार्क रहेकी घिसिङले हेडमार्फत सुन्दर गोल गरिन् ।

 

खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी सरु लिम्बु भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिम एपिएफकी रेनुका नगरकोटी भइन् । उनले नगद एक लाख एक हजार रुपैयाँ पुरस्कार पाइन् ।

 

उत्कृष्ट गोलकिपर एपिएफकी अञ्जना राना मगर, डिफेन्डर गीता राना एपिएफ, मिडफिल्डर दिपा शाही आर्मी, उच्च गोलकर्ता रश्मिकुमारी घिसिङ एपिएफ, राइजिङ प्लेयर सबनम राई आयोजक चन्द्रगढी युथ क्लब भए । उनीहरुले जनही नगद २५ हजार पुरस्कार पाए ।

 

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दिपककुमार पोखरेल, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, आयोजक चन्द्रगढी युथ क्लबका अध्यक्ष रोहित सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए ।