बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक निलो टिमले विजयी सुरुवात गरेको छ ।

 

डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा आयोजक बिर्तामोड भेट्रान्स एफसीले दूधे भेट्रान्सलाई १-० गोलको झिनो गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

 

खेलको इन्जुरी समयमा बिर्तामोडका लागि सन्तोष राईले गरेको गोल नै निर्णायक बनेको थियो । उनी प्लेयर अफ दी म्याचसँगै पहिलो गोलकर्ता बनेर क्रमशः १५ सय र १६ सय पाउन सफल भए ।

 

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजारसहित टर्फी पाउने छ भने उपविजेताले नगद ५१ हजारमा चित्त बुझाउनु पर्नेछ । प्रतियोगिताको उद्घाटन झापा ११ फुटबल क्लब तथा मेची आँखा उपचार केन्द्रका अध्यक्ष जलकुमार गुरुङ र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले गरेका थिए ।

 

बिर्तामोड एफसीका अध्यक्ष किरण थापाको अध्यक्षतामा भएको प्रतियोगिताको प्रथम पुरस्कार फुटबलप्रेमी नेत्रनारायण श्रेष्ठले प्रायोजन गरेका हुन् । भोलि आइतबार दुई खेल हुने आयोजकले जनाएको छ ।