शनिश्चरे । झापाको अर्जुनधारामा जारी वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा आज भएको खेलमा वडा नम्बर २ विजयी भएको छ । वडा नम्बर ६ माथि १-० गोलको नतिजाबाट २ नम्बर वडाले क्वाटरफाइनलमा प्रवेश पाएको हो ।
अर्जुनधारा ९ को नमुना खेलमैदानमा भएको खेलमा २ नम्बर वडाको जितमा पवेन्द्र सेन्च्युरीले गरेको गोल नै निर्णायक बनेको थियो । टिमका लागि गोल गरेका उनी खेलको प्लेयर अफ दी म्याच भए । उनले नगद १ हजार ५ सयसहित ट्रफी पाए ।
उनलाई १ नम्बर वडाध्यक्ष उपेन्द्र बस्नेत, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, सचिव खगेन्द्र लिङदेन सहआयोजक गोलधाप युवा क्लबका अध्यक्ष सुरेन राईले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा ११ वटा वडाको सहभागिता रहेको छ । आइबार वडा नम्बर ३ र वडा नम्बर ८ बीच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजारसहित ट्रफी पाउने छ ।
यसैगरी, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ । स्थानीय गोलधाप युवा क्लब सहआयोजक रहेको प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने जनाइएको छ ।