बिर्तामोड । मोरङको उर्लाबारी एफसीले डोमालाल राजवंशी रंगशालामा आजदेखि सुरु दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेञ्ज कपमा विजयी सुरुवात गरेको छ ।

 

बिर्तामोडको न्यू स्टार क्लबलाई ४-१ गोलअन्तरले पराजित गर्दै उर्लाबारीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको १३औँ मिनेटमा उर्लाबारीका लागि राजेश दाहालले हेडर गोल गर्दै अग्रता दिलाएका थिए ।

 

प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको २ मिनेटमै शक्ति राईले न्यू स्टारका लागि गोल गरेर बराबरीमा फर्काए । तर, न्यू स्टारको बराबरी त्यति धेरै टिक्न सकेन । उर्लाबारीसँग एकोहोरो दबाब व्यहोरेको न्यू स्टार अन्ततः फराकिलो गोलअन्तरमा पराजित हुन पुग्यो ।

 

उर्लाबारीका मिलन लिम्बूले दोस्रो हाफको २३औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए । उनले व्यक्तिगत दोस्रो गोल २९औँ मिनेटमा गरे । यसअघि २५औँ मिनेटमा असिम राईले टिमका लागि एक गोलको योगदान दिएका थिए ।

 

खेलमा दुई गोल गरेका उर्लाबारीका मिलन लिम्बू प्लेयर अफ दी म्याच बने । उनले तीन हजार नगदसहित ट्रफी पाए । उनलाई प्रमुख अतिथि झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड ६ का वडाध्यक्ष सूर्य कन्दङवा, आयोजक बिर्तामोड युनाइटेड एफसीका खेल संयोजक अनिष सुवेदीलगायतले पुरस्कार प्रदान गरे ।

 

आठ टिम सहभागी रहेको प्रतियोगितामा भोलि (सोमबार) शनिश्चरे एफसी अर्जुनधाराले कनकाई स्पोर्टिङ क्लबसँग दोस्रो क्वाटरफाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्दा उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ, मेडल र ट्रफी पाउनेछ ।

 

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद तीन हजार र ट्रफी पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी प्राप्त गर्ने क्लबका सचिव सन्तोष राई जानकारी दिए ।

 

विधागतर्फ उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र उदीयमान खेलाडीलाई नगद पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।