शनिश्चरे । झापाको अर्जुनधारामा एकदिने प्रथम क्वानस्तरीय आमन्त्रित उसु प्रतियोगिता सम्पन्न भएको छ । अर्जुनधारा उसु क्वानको आयोजनामा भएको प्रतिस्पर्धामा झापा, मोरङ र सुनसरीका ८ वटा क्वानको सहभागिता रहेको थियो ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले उद्घाटन गरेको प्रतियोगितामा २० वटा स्वर्ण, २० वटा रजत र ४० वटा कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
जसमा आयोजक अर्जुनधारा उसु क्वानले १३ वटा स्वर्ण पदक जित्दै च्याम्पियन बनेको छ । यसैगरी, चार वटा स्वर्ण पदक जित्दै बिर्तामोड उसु क्वान दोस्रो भएको छ ।
दुई वटा स्वर्ण जित्दै सुनसरीले तेस्रो स्थान सुरक्षित गरेको आयोजक समितिले जनाएको छ । प्रथम र दोस्रो हुने उसु क्वानलाई क्रमशः १० हजार र ७ हजारसहित ट्फी प्रदान गरिएको अर्जुनधारा उसु क्वानका अध्यक्ष सविन श्रेष्ठले जानकारी दिए ।
