काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
पानी परेसँगै देशका विभिन्न भूभागमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनअघि तराईका केही ठाउँमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेकोमा अहिले घटेको छ ।
महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई ठाउँमा मेघ गर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
यसैबीच यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ । तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन । मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भई नसकेको विभागको भनाई छ ।
भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बङ्गालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ । नेपालमा सरदर जुन १३ तारिखमा मनसुन भित्रने गर्छ । आज जुन १२ तारिख हो । यसपालि औसत मिति आसपासमै मनसुन भित्रने मौसमविद्को अनुमान छ ।