बिर्तामोड । हेटौँडाका सोम लामा झापाको बिर्तामोडमा आयोजित दोस्रो नेपाल मास्टर्स स्नुकरमा च्याम्पियन बनेका छन् ।
बिर्तामोड स्नुकरको आयोजनामा भएको प्रतियोगितामा प्रतिस्पर्धी धनगढीका रोहित क्षेत्रीलाई पराजित गर्दै पहिलो संस्करणका च्याम्पियन सोम लामा ब्याक टु ब्याक च्याम्पियन बनेका हुन् । सोमले ८-५ अंकको सेटमा रोहितलाई पराजित गरे ।
च्याम्पियन सोम लामाले नगद २ लाखसहित आकर्षक ट्रफी पाएका छन् । यसैगरी, उनले तीन वर्षे रनिङ ट्रफीमा उपाधिको दाबी गरेका छन् । उपविजेता रोहित क्षेत्रीले नगद १ लाखसहित ट्रफी पाए । रोहितले नै हाइएस्ट ब्रेकरको उपाधिसँगै नगद ३५ हजार जितेका छन् ।
बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीको अध्यक्षतामा असार ४ गतेदेखि सञ्चालित प्रतियोगिताको विजेता तथा उपविजेतालाई बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथाेकी, ४ नम्बर वडाका अध्यक्ष राहुल शर्मा, नगर खेलकुदका कार्यवाहक अध्यक्ष सन्तोष गुरुङ, सचिव विसन लिम्बू, स्नुकरका अर्का सञ्चालक नवल अग्रवाललगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा १६ जना राष्ट्रिय खेलाडी र पूर्वका १६ जना खेलाडी गरी ३२ जनाको सहभागिता रहेको थियो । नगर खेलकुदका सदस्य विशाल अग्रवालले स्वागत गरेकाे समापन कार्यक्रम सञ्चारकर्मी तिलक तामाङले सञ्चालन गरेका थिए ।