झापा । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत् राख्ने निर्णय गरेको छ ।

 

भोटेकोशी नदीमा आएको बाढीका कारण सिर्जना भएको कठिन अवस्थालाई ध्यानमा राखेर निगम सञ्चालक समितिको निर्णयअनुसार साविकको मूल्य नै कायम राखिएको हो ।

 

मध्यपूर्वमा चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भाउमा उतारचढाव हुने गरेको छ । आइओसीबाट प्राप्त पछिल्लो खरिद मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १२ रुपैयाँ ४० पैसा र डिजेलमा प्रति लिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको छ ।

 

तर, पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य साविककै सरह पहिलो वर्गमा प्रति लिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ नै कायम छ ।

 

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाण्डौ, पोखरा र दिपायल पर्छन् । खाना पकाउने ग्यासको भाउ पनि प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ यथावत् राखिएको निगमले जनाएको छ ।