झापा । पाहुना टोली पाँचथरको बौद्ध भेट्रान्स एफसीलाई रोक्दै चारपाने युनाइटेड भेट्रान्स क्लब अर्जुनधारास्थित सालबारीमा जारी प्रथम सालबारी-मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

 

पाँचथरे टोलीलाई ३-० गोलको सहज जित निकालेर चारपानेले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । चारपानेको जितमा प्रविण विकले दुई तथा विकास राईले एक गोल गरे। खेलको १९औँ मिनेटमा प्रविण विकले गोल गर्दै चारपानेलाई सुरुवाती अग्रता दिलाएका थिए । ३७औँ मिनेटमा पाएको फ्रिकिकमा विकास राईले हेडर गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्।

 

खेलको अतिरिक्त समयमा प्रविण विकले व्यक्तिगत दोस्रो गोल गर्दै चारपानेको जित सुनिश्चित गरे। खेलमा दुई गोल गरेका चारपानेका प्रविण विक प्लेयर अफ द म्याच घोषित भए। उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। उनलाई बिर्तामोड नगर प्रमुख पवित्रादेवी महतारा, भारतीय खेलप्रेमी जोसेफ खाती लगायतले पुरस्कार प्रदान गरे।

 

पहिलो सेमिफाइनलमा चारपानेले झिलझिले भेट्रान्स क्लबको सामना गर्नेछ। झिलझिलेले उद्घाटन खेलमा ज्ञानेचोक भेट्रान्सलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।

 

प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्जाटरफाइनल खेलमा बिर्तामोड भेट्रान्स क्लब र मेची भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिका संयोजक नन्दलाल खतिवडाले जानकारी दिए।

 

असोज २४ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजारसहित ट्रफी र उपविजेताले नगद ३१ हजार रुपैयाँ प्राप्त गर्नेछ। विभिन्न विधागत उत्कृष्ट खेलाडीले जनही ५ ५ हजार रुपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सयसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।