झापा । झापामा तास खेल्ने र लंगुरबुर्जा खेलाउने ११ जना पक्राउ परेका छन् । तास खेल्दै गर्दा ७ जना र लंगुरबुर्जा खेलाउँदै गर्दा ४ जना पक्राउ परेका हुन् ।

 

मेचीनगर १० स्थित धुलाबारीमा ४५ वर्षीय जमिन राईले सञ्चालन गरेको सेकुवा कर्नरमा जुवातास खेलाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएर सेकुवा कर्नरको पछाडि उत्तरपट्टी रहेको टिनको छानो भएको घरमा खानतलासी गरेको थियो । त्यसक्रममा ७ जना पक्राउ परेका हुन् ।

 

पक्राउ पर्नेहरुमा मेचीनगर १० बस्ने किरण लम्साल, हर्कराज राई, मेदनी बराल, वडा नम्बर ५ दोकानडाँडा बस्ने विशाल लावती र शेखरनाथ भण्डारी, वडा नम्बर ७ बस्ने प्रकाश लावती, वडा नम्बर ३ बस्ने सागर बस्नेत रहेका छन् ।

 

उनीहरूको साथबाट ८ बुङ तास र नगद १ लाख ८ हजार ५२० रुपैयाँ बरामद भएको छ । उनीहरुलाई अनुसन्धानका लागि झापा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

यसैगरी, मेचीनगरमै लंगुरबुर्जा खेलाउँदै गर्दा चारजना पक्राउ परेका छन् । सोमबार मेचीनगर ८ इँटाभट्टा चोकमा लंगुरबुर्जा (डाइस) खेलाउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको संयुक्त प्रहरीको टोलीले मेचीनगर ६ बस्ने चेतबहादुर लिम्बू, सोही ठाउँ बस्ने दिपक चौधरी, वडा नम्बर ५ बस्ने सनम तामाङ र वडा नम्बर ७ बस्ने जुगल भुजेललाई नियन्त्रणमा लिएको हो ।

 

उनीहरुको साथबाट नेपाली रुपैयाँ १८ हजार ५० र भारतीय रुपैयाँ २ सयसहित डाइस बरामद भएको छ । उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।