झापा। सशस्त्र प्रहरीले झापाका विभिन्न स्थानबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका दुईवटा भारतीय कार र एक अटोसहित लाखौं रुपैयाँबराबरका अवैध सामान बरामद गरेको छ।

 

बरामद गरिएका सामानमध्ये करिब ४ सयकेजी माछा भने नष्ट गरिएको छ। सशस्त्र प्रहरी बलको २ नम्बर गण हेडक्वाटर झापाका अनुसार असोज २४ देखि २६ गतेसम्म जिल्लाका विभिन्न स्थानमा चेकजाँच तथा मोबाइल गस्ती टोलीले अवैधरूपमा भन्सार छली ल्याइएका सामानहरु बरामद गरेका हुन्।

 

असोज २५ गते साँझ बिर्तामोड ८ स्थित देउनिया पुलमा सुरक्षा बेस गोलधापबाट खटिएको टोलीले भारतीय नम्बर डब्लुबी ७४एजी ७०२७ प्लेटको कारमा राखेर नेपालतर्फ ल्याउँदै गरेको तीन बोरा पूजा सामग्री बरामद गरेको थियो। उक्त कार र पूजा सामग्री भद्रपुर भन्सार कार्यालयमा बुझाउँदा पूजा सामग्रीको मूल्य २ लाख ७४ हजार ३४० र कारको मूल्य १० लाख कायम गरिएको छ।

 

त्यसैगरी, असोज २४ गते अर्जुनधारा ११ स्थित कालीझोडा क्षेत्रमा सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले अर्को डब्लुबी ७४ बीसी १५२७ भारतीय कारसहित विभिन्न सामान बरामद गरेको थियो।

 

कारमा अवैधरूपमा ल्याउँदै गरिएको २० जोर फुटबल लेग प्याड र ९५ दर्जन लेडिज लेगिङ्स बरामद गरिएको हो। बरामद सामानको मूल्य १ लाख ७४ हजार तथा कारको मूल्य १० लाख कायम गरी आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

यसैगरी, असोज २६ गते दिउँसो कनकाई १ स्थित दुर्गापुर चोकबाट भारतीय सीमातर्फबाट अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरिएको करिब ४०० केजी विभिन्न जातका माछा र दुई रोल सेक्सन पाइपसहित मे १ ह ३५९२ नम्बरको अटोसमेत सशस्त्र प्रहरीले बरामद गरेको थियो।

 

सशस्त्र प्रहरी बल झापाबाट खटिएको टोलीले उक्त सामान बरामद गरेको हो। माछाको मूल्य १ लाख २० हजार कायम गरिएको छ भने अटो र सेक्सन पाइप आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ। उक्त अटो र सेक्सन पाइपको मूल्य ३ लाख १० हजार कायम गरिएको छ।