सूर्यको उपासना, प्रकृतिको सम्मान,
छठ हो हाम्रो आस्था र संस्कृतिको पहिचान।
चार दिनको साधना, श्रद्धाको अनुपम सार,
सूर्य र छठी माताको महिमा अपरम्पार

पहिलो दिन- नहाय–खाय
पवित्र स्नान गरी शुद्ध बनाइन्छ तन,
सात्त्विक भोजनसँगै शुद्ध गरिन्छ मन।
नियम र निष्ठाको सुरु हुन्छ यात्रा,
आस्थाले सजिन्छ घर, आँगन र पात्र

दोस्रो दिन – खरना
दिनभरि निर्जला व्रत, साँझ चन्द्रको उज्यालो,
गुड़को खीर र प्रसादले घर बन्छ निरालो।
प्रसाद ग्रहण गरी सुरु हुन्छ कठिन उपवास,
मनमा सूर्यदेवप्रति अटुट विश्वास।

तेस्रो दिन – सन्ध्या अर्घ्य
अस्ताउँदो सूर्यलाई जल अर्पण गरिन्छ,
घाटघाटमा भक्तिको दीप प्रज्वलित हुन्छ।
ठेकुवा, फलफूल, बाँसका डालामा सजिन्छ उपहार,
जलमा उभिई गरिन्छ सूर्यदेवको सत्कार।

चौथो दिन – उषा अर्घ्य
उदाउँदो सूर्यसँगै नयाँ आशा जाग्छ,
अर्घ्य चढाई सबैको सुख-समृद्धि माग्छ।
व्रतको पारणसँगै पूर्ण हुन्छ साधना,
आस्था, एकता र प्रेमको अमर आराधना।

अस्ताउने र उदाउने दुवै सूर्यको सम्मान,
यही छठको सन्देश, यही यसको महान् ज्ञान।
न जातको भेदभाव, न धनी-गरिबको पर्खाल,
छठले जोड्छ मानवता, प्रकृति र संस्कारको विशाल संसार।

प्रिन्स यादव
नेसनल ल क्याम्पुस
सानेपा, ललितपुर