झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले झापाको बिर्तामोडमा सोमवार आयोजना गर्ने भनिएको प्रदेश १ स्तरीय प्रशिक्षण तथा सुखानीको कार्यक्रम स्थगित गरेको छ ।

कोरोना भाइरस संक्रमणको खतरालाई ध्यानमा राखेर भेला तथा प्रशिक्षण स्थगित गरिएको नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले बताए । सरकारले सभा, सम्मेलन तथा भेला नगर्न आह्वान गरेकाले प्रशिक्षण स्थगित गरिएको अध्यक्ष घिमिरेको भनाई छ ।

नेकपाले झापा बिद्रोहका पाँच शहीदको स्मृतिमा सुखानी गर्ने कार्यक्रम पनि स्थगित भएको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले बताए ।

नेकपाले हरेक वर्ष झापा बिद्रोहका शहीदको सम्झनामा फागुन २१ गते सुखानीमा जनसभा लगायतका कार्यक्रम गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रशिक्षण तथा सुखानीको कार्यक्रममा सहभागी हुने घोषणा गरिएको थियो ।

तर, प्रधानमन्त्री मृगौला प्रत्यारोपणका लागि आइतबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । प्रचण्ड प्रशिक्षण र सुखानीको कार्यक्रममा आउने भनिए पनि कोरोनाका कारण नेकपा प्रदेश कमिटीले कार्यक्रम स्गगित अध्यउक्ष पाठकले बताए ।

झापा बिद्रोहका अगुवा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल, बीरेन राजवंशी र नारायण श्रेष्ठलाई पंचायती सरकारले झापाबाट जेल सार्ने बहानामा २०२९ साल फागुन २१ गते सुखानीमा गाली हानी हत्या गरेको थियो । त्यसको सम्झनामा नेकपा लगायतले हरेक वर्ष जनसभा लगायतका कार्यक्रम गर्दै आएका छन् ।