झापा । तत्कालिन पंञ्चायती शासकद्वारा २०२९ साल फागुन २१ गते झापाबाट जेल सार्ने बहानामा सुखानीको जंगलमा हत्या गरिएका झापा विद्रोहका ५ सहिदको सम्झनामा स्मृतिसभा गरिएको छ ।
कोरोना भाइरसका कारण ठुलो स्मृतिसभा स्थगित गरिएपछि नेकपा अर्जुनधारा नगर कमिटी र नेकपाको विद्यार्थी संगठन अनेरास्वियुद्वारा स्मृतिसभाको आयोजना गरी सहिदको सम्झना गरिएको हो । नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले अझै पनि सहिदको सपना साकार हुन नपाएको भन्दै निजी स्वार्थ र गलत क्रियाकलापका कारण सहिदका सपना पूरा हुन नपाएको बताउनुभयो ।
विगतमा भएका गल्ती कमजोरीलाई सच्चाउँदै आत्मसमिक्षा गर्दै पाएको अवसरको पूरा सदुपयोग गरेर बाँकी अभिभारा पूरा गर्नुको विकल्प नभएको नेता घिमिरेको भनाइ थियो । कार्यक्रममा नेकपाका नेता तथा संविधानसभाका सदस्य प्रेम गिरीले सहिदले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
अनेरास्वियुका केन्द्रीय सहसंयोजक रन्जित तामाङले त्यसबेला पनि तत्कालिन शासकले केही युवालाई मार्दैमा आन्दोलन रोकिन्छ भन्ने दिवा सपना देखेको भन्दै त्यही झापा विद्रोहको आन्दोलनकै निरन्तताका कारण सयौँ वर्षको इतिहास बोकेको राजसंस्था र सामन्ती प्रथा ढलेको बताउनुभयो ।
त्यसबेलाका झापा विद्रोहका मुख्य कमाण्डर केपी शर्मा ओली नै हाल पनि देशको प्रधानमन्त्री हुनुभएकोले सहिदको सपना साकार हुने विश्वास व्यक्त गर्नुभयो ।
सभामा विद्यार्थी नेतृ सुनिता बराललगायतले बोल्नुभएको थियो भने स्मृतिसभामा संघीय सांसद धर्मशीला चापागाई, प्रदेश सांसद झलकसिंह दर्लामी, नेकपा नेताहरु चिन्तन पाठक, विजय साम्पाङ्ग, ज्योतिसिंह दर्लामी, महेन्द्र भट्टराई, वीरेन्द्र बस्नेत, नरेश चुँडाल, मनोज ताम्लीलगायतको उपस्थिति थियो ।