बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसविरुद्धको अभियानका लागि ५० लाख रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ ।
संस्था शुक्रवारदेखि २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा सहाराले समुदाय केन्द्रीत राहत कार्यक्रमको प्याकेज घोषणा गरेको हो ।
क्वारेन्टाइनमा राखिएका नागरिक, खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेतका लागि सुरक्षा सामग्रीसहितको व्यवस्थापन र विपन्न नागरिकका लागि खाद्य सहायता हुने गरी राहत प्याकेज घोषणा गरिएको सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।
यसअघि सहाराले प्रदेश १ का विभिन्न क्वारेन्टाइनमा बसेका नागरिकका लागि खाद्यान्न सहायता उपलब्ध गराएको थियो । सहारा कर्मचारी मानवीय सहायता कोषसमेत परिचालन गर्दै राहत प्याकेज बनाइएको कार्यकारी निर्देशक गिरीले जानकारी दिए ।
देश लक डाउनका बेला सङ्कटमा परेका सदस्यलाई पाँच हजार रुपैयाँ सापटी दिने निर्णय गर्दै सहाराले त्यसका लागि सात करोड रुपैयाँ छुट्याइएको जनाएको छ । सापटी आगामी दुई महिनाभित्र फिर्ता गर्नुपर्छ । सापटीमा व्याज नलाग्ने कार्यकारी निर्देशक गिरीले बताए ।
सहाराले चैत मसान्तभित्र बुझाउनु पर्ने किस्ता तथा व्याज बैशाखभित्र बुझाए हुने गरी व्यवस्थापन गर्दै हर्जना छुट दिने पनि निर्णय गरेको छ ।