बिर्तामोड । लक डाउन जारी रहेकै बेलामा झापाका चिया बगान तथा प्रशोधन कारखाना सुचालु गर्ने निर्णय भएको छ ।
बिहीवार प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले चिया बगान र प्रशोधन कारखानाको काम नियमित गर्ने निर्णय गरेको हो ।
हरियो पत्ती टिप्ने र प्रशोधन गर्ने लगायतका सबै काम हुने गरी बगान तथा प्रशोधन कारखाना सञ्चालन गर्ने निर्णय भएको बैठकमा सहभागी अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नम्वर १ का इन्चार्ज भूपाल सापकोटाले बताए । नेपाल चिया उत्पादक सङ्घ र मजदूर प्रतिनिधि बगान सञ्चालनका लागि सहमत भएका हुन् ।
‘बैशाख ७ गतेदेखि चिया बगान तथा कारखाना नियमित सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ’, अध्यक्ष सापकोटाले विवेचनासँग भने । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न तोकिएका स्वास्थ्य सम्वन्धी मापदण्ड पूरा गर्दै चिया बगान र कारखानाको काम नियमित गर्ने निर्णय भएको छ ।
यसअघि अघिल्लो साता स्थानीय प्रशासन चिया उद्योगी, मजदूर सङ्घ सङ्गठनबीच भएको बैठकमा झापाका चिया बगान र प्रशोधन कारखानामा काम नियमित गर्ने निर्णय भएको थियो । अघिल्लो बैठकमा चिया बगानमा सिञ्चाई गर्ने, विषादी छर्किने, नाला सफा गर्ने, ठूलो भएको चिया स्किपिङ गर्ने र कारखाना मर्मत गर्ने काम अघि बढाउन सरोकारवाला सहमत भएका थिए ।
बिहीवारको बैठकले बगान तथा प्रशोधन कारखाना सञ्चालनका क्रममा तोकिएको स्वास्थ्य सम्वन्धी मापदण्ड पूरा भए नभएको विषयमा अनुगमन गर्न नेपाल चिया तथा कफी विकास बोर्डको संयोजकत्वमा अनुगमन समिति पनि गठन गरेको छ । समितिमा चिया उत्पादक सङ्घ, झापा उद्योग सङ्घ र ट्रेड युनियनका प्रतिनिधि छन् ।
अनुगमन समितिले मास्को प्रयोग भए नभएको, निश्चित दुरी कायम गरिएको नगरिएको, स्यानेटाइजर र सावुनको प्रयोग भए नभएको लगायतका विषयमा अनुगमन गर्नेछ । बैठकले स्थानीय तहसँग आवश्यक समन्वय गरेर बगान तथा प्रशोधन कारखाना चलाउने पनि निर्णय गरेको छ ।
निगम मातहतका बगान पनि सञ्चालनमा
नेपाल चिया विकास निगम अन्तर्गतका चिया कमान सञ्चालनमा आएका छन् । चिया विकास निगमले बुधबारदेखि झापा मेचीनगर नगरपालिकाको टोकला चिया कमान सञ्चालनमा ल्याएको हो । सरकारले चिया बगान तथा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनका लागि आह्वान गर्दै आए पनि अधिकांश चिया कमान बन्द थिए ।
चैत १९ गते प्रदेश –१ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चिया टिप्न, ढुवानी गर्न, कारखाना सञ्चालन गर्न स्थानीय तहलाई सुरक्षित मापदण्ड बनाई कार्यान्वयन तथा अनुगमन गर्न निर्देशन दिएको थियो । सोहीबमोजिम स्थानीय सरकारसँगको समन्वयमा बगान सञ्चालनमा ल्याइएको नेपाल चिया विकास निगमका प्रमुख लोकनाथ दंगालले बताए ।