पाँचथर, पुस २१ । पूर्वी पहाडको प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको दशौँ सस्करण आजदेखि सुरु हुँदैछ । सदरमुकाम फिदिमस्थित खेलमैदानमा हुने उद्घाटन खेलमा झापा ११ र कर्णसिंह सोनाम मेमोरीयल क्लब ताप्लेजुङ भिड्दैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को क्यालेण्डरमा समेत रहेको गोल्डकपमा ‘ए’ डिभिजनका पाँच र प्रदेश १ का विभिन्न जिल्लाका पाँच टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा आयोजक फिदिम स्पोर्टिङ क्लब, त्रिभुवन आर्मी, एपिएएफ, हिमालयन शेर्पा, जावलाखेल युथ क्लब, डिवाईन ब्वाइज युनियन, सुनसरी–११, झापा–११ र कर्णसिंह सोनाम मेमोरीयल क्लब ताप्लेजुङको सहभागिता रहेको जिल्ला फुटबल संघ पाँचथरका अध्यक्ष सुजन नेम्बाङले जानकारी दिए।

आगामी पुस ३० गते सम्म सञ्चालन हुने प्रतियोगितको उपाधि विजेता टिमले ४ लाख रुपैयाँ नगदसहित ट्रफि पाउने छ । उपविजेता टिमले भने २ लाख र ट्रफि पाउने छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले मोटरसाइकल पाउने छ भने ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड समेत प्रदान गरिने बताइएको छ । एकदशक यता महागुरु फाल्गुनन्दको नाममा फिदिम स्पोटिङ क्लब र पाँचथर फुटबल संघले सयुक्त रुपमा प्रतियोगिता आयोजना गर्दै आएका छन् ।

झापाबाट कर्ण लिम्बू, देवेन्द्र तामाड, दिलेन लोक्तामलगायतका खेलाडी मैदान उत्रनेछन् ।