पाँचथर । झापा ११ एफसीले जीत निकाल्दै रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

पाँचथरको फिदिममा शनिबारदेखि आयोजित प्रतियोगितामा कर्णसिंह सोनम एफसी ताप्लेजुङलाई उद्घाटन खेलमा झापा ११ ले ३–१ गोलको स्पष्ट नतिजा निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफ १–१ गोलको बराबरी खेल्ने क्रममा देवेन्द्र तामाङको गोल सम्झनलायक बन्यो । २६औँ मिनेटमा पाएको कर्ण लिम्बूको प्रहारमा देवेन्द्रले हेडरमार्फत गोल गरेको थियो । झापा ११ का लागि राजकुमार कन्दङ्वाले दोस्रो हाफको चार मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
यसअघि खेलको ७ मिनेटमै ताप्लेजुङका अनुप सेन्दाङले गोल गरेर झापालाई पछि पारेका थिए । तर, दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको झापाका कप्तान कर्ण लिम्बूले मिलाइदिएको पासमा राजकुमारले उत्कृष्ट गोल गरेका थिए ।

एकोहोरो दबाब झेलेको ताप्लेजुङका लागि विदेशी खेलाडी रुनी, एलेक्स र म्याक्सवेल झापाका खेलाडीसामु फिक्का सावित भए । यसैबीच, कर्ण लिम्बू उत्कृष्ट गोल गरेर झापाका लागि स्पष्ट जीत निकाले । उनले दास्रो हाफको १२औँ मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच झापा ११ का देवेन्द्र तामाङ घोषित भए । उनलाई प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले नगद पुरस्कार प्रदान गरे ।

फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको यस गोल्डकपको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख पाउनेछ । १० टिम सहभागी प्रतियोगितामा आइतबार आयोजक फिदिम स्पोर्टिङ र मोरङ ११ बीच खेल हुने आयोजकका महासचिव पासाङ तामाङले जानकारी दिए ।