0 Shares

फिदिम । फुसले छाएका साना साना घामले चियाउने घरहरु । तमोर र हेवाले छाडेको किनारमा सानो बस्ती । खोलामा औधी रमाउने माझी जातिका घर हुन् यी । यिनै घरमा पकाएका माछाको स्वादका पारखीहरु अहिले धेरै छन् । परम्परागत तरिकाबाट पकाएको माछा खान पाइन्छ यहाँ । फिदिमदेखि नजिकै भए पनि आधुनिक प्रचलनका रहनसहन थोरैमात्र पुगेको छ । गरिबी मज्जाले हाँसेका घरहरुमा पाकेका माछाको अग्र्यानिक स्वाद लिनका लागि यहाँ पुग्नेको संख्या उल्लेख्य हुन्छ ।

जीवनशैली उत्तिकै पुरानो । शनिबार घरहरु खचाखच भरिएका हुन्छन् । सदरमुकाम फिदिम बजार शनिबार बन्द हुने गर्छ । उत्तिकै सुनसान पनि । तर, तमोरमा पाइने विभिन्न जातका माछाको स्वाद लिन यहाँ बाक्लो गरी आइपुग्ने गर्छन् सदरमुकामबासी । माछा पु¥याउनै कठिन हुने गरेको स्थानिय विनिता माझीको भनाइ छ ।

माझीहरुले माछा मार्छन् । आलो र सुकाइएको माछा बेच्छन् । माछाले गर्दा अन्य पेय पदार्थ पनि चलेको पाइन्छ । मौका मिलाएर माझीटार हुइँकिहाल्नेको कमी छैन यहाँ । यहाँ घुम्ने, तमोरमा खेल्ने, फोटो खिच्ने अनि माछा खाएर फर्किनेको ओइरो हुन्छ ।

फुर्सद निकालेर होस् या आगन्तुकहरुलाई घुमाउन फिदिमबाट माझीटार पुग्नु यहाँको एक किसिमको आतिथ्य स्वागतका रुपमा लिइन्छ । पाँचथर र तेह्रथुमको सिमाना बनाएर बगेको तमोरमा पाइने माछाको स्वाद लिने ध्येयले १३ किलोमिटरको कालोपत्रे यात्रा सहज भएकाले पनि दैनिक यहाँको लोकप्रियता बढ्दो छ । शान्त बगिरहेको निलो तमोरको दृष्यमा रमाउँदै माछाको स्वाद लिने उत्कट चाहना एकै पटकमा पूरा नहुन सक्छ ।

यसले माझीटार व्यावसायिक बन्दै गएको छ । तमोर रिसोर्ट लगायतका होटल सञ्चालनमा आएका छन् । माछाले यहाँको महत्व झल्काएको रिसोर्टका सञ्चालक बरुण तुम्बापो बताउँछन् । पाँचथर, ताप्लेजुङ र तेह्रथुमलाई छोएर बग्ने तमोर र कावेलीका माछा निक्कै मीठो स्वादका रुपमा लिइन्छ । पाँचथरको पञ्चमीमा कावेली नदी तमोरमा मिसिन्छ । पाँचथर, तेह्रथुमहुँदै धनकुटाका विभिन्न ठाउँ र तमोर नजिकै बनेका बजारमा माछा प्रख्यात छ ।

माछाको रोजाइले बजार चलेका छन् । ताप्लेजुङको दोभान, पाँचथर ताप्लेजुङको कावेली बजार, माझीटार, लुमुघाट, धनकुटाको मुलघाट निक्कै चर्चित छन् । माछा खाने साना बजार र बस्तीहरु छन् । पहाडका साना माछा निक्कै स्वादिष्ट हुने पारखीहरुको भनाइ छ । असला, तिते, बुधुना लगायतका मान्छा यहाँ पाइन्छन् । यहाँको माछा कोसेलीको रुपमा तराई, राजधानी तथा विदेशसम्म पठाइन्छ ।
कावेलीको माछाको स्वाद बिर्सन नसकिने रहेको ताप्लेजुङ सिनामकी सुमी लिम्बू बताउँछिन् । ‘तिते माछाको त कुरै नगरौँ’, उनले भनिन् । धेरै ठाउँबाट यहाँको माछाको स्वादको चर्चा हुने गरेको उनको अनुभव छ । त्यसो हुनुमा सडकले सहज बनाएको उनको भनाइ छ ।

पाँचथरको फलैँचा र ओयाम तिते माछाका लागि निक्कै चर्चित छ । यहाँको लोकप्रियता देशदेशावरमा फैलिएको छ । सिजनमा ठुलो संख्यामा तिते माछा मारेर सुकाइने गरिन्छ । तिते माछा मार्न ठेक्का नै लगाइन्छ ।

दुई नदीहरु नजिकैका बस्तीहरुमा माछा सुकाइएको भेटिन्छ । बजार क्षेत्रमा भने कहिलेकाहीँ पाइन्छ । आलो माछा प्रतिकेजी सात सय रुपैयाँ पर्छ । प्लेटको १५० । सुकाएको माछा प्रतिशिल एक सय रुपैयाँ । फिदिम आएका पाहुनालाई माझीटार पु¥याएर माछा चखाउने गरिन्छ ।
जाल हानेर माछा मार्ने माझीहरु हुन्छन् । पहिले बजारमा ल्याएर माछा बिक्री गर्ने गरिन्थ्यो । अहिले त्यस्तो पाइँदैन । साना र ठुला किसिमका माछाहरु पाइन्छन् । दुई वर्षअघि ताप्लेजुङमा आएको बाढीपहिरोले ठुला ठुला माछा किनारमा मरेको अवस्थामा भेटिएका थिए ।

यसरी माछा घटे
जाल हान्ने, पासो थापेर माछा मार्ने परम्परागत तरिका हो । तर, पछिल्ला समयमा करेन्ट लगाएर माछा मार्ने क्रम बढेको छ । विष्फोट गरेर समेत माछा मार्ने गरिन्छ । यसले गर्दा माछा प्रसस्त रुपमा पाउन छाडेको माझीहरु बताउँछन् ।

विभिन्न ठाउँबाट ब्याट्री बोकेर माछा करेन्ट लगाएर मार्ने गरिन्छ । खोलामा विष्फोट गराउने समेत गरेको पाइन्छ । स्थानीय प्रशासनले यसलाई नियन्त्रण गर्न सकेको भने देखिँदैन । यसलाई नियन्त्रण गर्न नसके जैविक विविधतामा पनि ह्रास हुने वातावरण विज्ञहरुको भनाइ छ । स्थानीय तहले यसतर्फ ध्यान पु¥याउन सकेको छैन । खुलेआम अप्राकृतिक रुपमा माछा मार्ने गरिएकाले सहजै पाउने गरेको माछा अचेल घटेको छ ।

(source : Fidim Today)