पाँचथर । फिदिमको फुटबल मैदानमा कर्ण लिम्बू नायक बन्दा झापा ११ एफसी यहाँ जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको फाइनल प्रवेश गरेको छ व।

फिदिम माविको मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सरस्वती युथ क्लबविरुद्ध गोल गरेर सिंगो टिमका लागि मात्र नभइ समर्थकका लागि पनि कर्ण लिम्बू नायक सावित भए । खेलको ५७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा झापा ११ फाइनलमा प्रवेश गर्ने पहिलो टोली बन्यो ।

प्रतिस्पर्धात्मक खेलमा झापालाई स्थानीय फुटबलप्रेमीको समर्थन थियो । तीन विदेशी खेलाडीसहित मैदान उत्रेको सरस्वतीका लागि भएको प्रयास झापाली रक्षक र गोलरक्षकले विफल तुल्याइदिएपछि पहिलोपल्ट सहभागी भएर दोस्रो चरणबाट घर फर्केको छ ।

‘गर या मर’को स्थितिमा रहेको झापाले सरस्वतीमाथि जीत दर्ता गर्न आप्mना राम्रा खेलाडीलाई घाइते बनाउन बाध्य भयो । गोलकर्ता कर्ण लिम्बू पनि घाइते भएपछि ९० मिनेट मैदानमा टिक्न सकेनन् । सरस्वतीका विदेशी खेलाडीको निशानामा परेका कर्ण शारीरिक बनावटका कारण पनि कमजोर देखिन्थे ।

प्रतियोगिताकै सर्वाधिक ४ गोल गरेका कर्ण अहिलेसम्म अग्रपंक्तिमा छन् । २ गोल गरेका भिक्टोरको टिम सेमिफाइनलबाटै बाहिरिएपछि कर्णलाई पछ्याउने अन्य खेलाडी छैनन् । आयोजकले सर्वाधिक गोलकर्तालाई नगद १५ हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

खेलको म्यान अफ दी म्याच झापा ११ का दिलेन लोक्ताम घोषित हुँदै नगद १० हजार पाउन सफल भए । पाँचथर जिल्ला फुटबल संघ र फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगितामा १० टिम सहभागी छन् । विजेता टिमले नगद ४ लाख र उपविजेता टिमले नगद २ लाखसहित ट्रफी पाउनेछ । शनिबारको खेल दार्जीलिङको रोयल एफसी र क्रिmभुवन आर्मी क्लबबीच हुने आयोजकका महासचिव पासाङ तामाङले जानकारी दिए ।