पाँचथर, पुस ३० । पाँचथरको फिदिममा जारी रुस्लान दशौँ फाल्गुनन्द गोल्डकपको उपाधिका लागि आज झापा ११ एफसी र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दैछन् । फाइनल खेल फिदिमस्थित फिदिम माविको खेलमैदानमा दिउँसो २ बजेदेखि हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को क्यालेन्डरमा पर्ने जारी सिजनको पहिलो गोल्डकप उपाधि उचाल्न दुवै टिम आतुर देखिएका छन् । दुवै टिमका प्रशिक्षकहरुले उपाधिको लागी तयार रहेको बताएका छन् । झापा–११ का प्रशिक्षक प्रवेश कटुवालले आर्मी उत्कृष्ट टोली भएपनि आफुहरुसँग अनुभवी खेलाडी र दर्शकको साथ रहेको प्रतिक्रिया दिए । यता आर्मीका प्रशिक्षक गंगाराम देउजाले झापाली खेलाडीहरुको भन्दा आफ्नो ‘टिमको टिमस्पिड’ र ‘स्टामिना’ राम्रो भएकोले उपाधि जित्ने दाबी गरे ।

दर्शकको भरपुर समर्थन पाउदै आएको झापा आफ्ना नियमित स्ट्राईकर कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्ताम र गोलरक्षक मनोज प्रधानसहित मैदान उत्र्ने तयारीमा छ । आर्मी भने केही अनुभवी खेलाडीसहित दोस्रो सेटका साथ मैदान उत्र्दैछ ।

जारी प्रतियोगितामा झापाले ताप्लेजुङ, एपीएफ र सरस्वती युथ क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको हो । आर्मीले क्वार्टरफाइनलमा आयोजक फिदिम स्र्पोटिङ क्लब र सेमिफाइनलमा भारतको रोयल एफसी दार्जीलिङलाई पन्छ्उदै उपाधि होडमा पुगेको हो ।

फिदिम स्पोर्टिङ क्लब र जिल्ला फुटबल संघ पाँचथरले संयुक्तरुपमा आयोजना गरेको गोल्डकपको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा १० टिमले सहभागीता जनाएका थियो ।