पाँचथर । फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइलनका खेल सकिँदासम्म कुन दिन कति दर्शकले टिकट काटेर प्रवेश गरे होलान ?

यस पटकको संस्करणमा आयोजकले अपेक्षा गरेभन्दा बढी दर्शक उद्घाटन खेलमा आएका थिए । झापा ११ र ताप्लेजुङबीचको खेलमा अहिलेसम्मकै सर्वाधिक दर्शक आएर हौसला मिलेको फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले बताए । उद्घाटन खेलमा एक सय दरका टिकट राखिएको थियो । जस टिकट बिक्रीबाट मात्र एक लाख ५२ हजार २ सय संकलन भएका क्लबका महासचिव पासाङ तामाङले जानकारी दिए ।

उनका अनुसार दोस्रो खेलमा आयोजकसँग मोरङ ११ को खेल थियो । तर, अपेक्षित टिकट बिक्री भने भएन । विदेशी खेलाडीलाई आयोजकले खेलाएको भन्दै आलोचना भइरहेको बेला टिकट बिक्री भने ९० हजार ४ सयमात्र भएको थियो । तेस्रो खेलमा आयोजकले टिकट दर १५० बनाएको थियो । झापा ११ र एपीएफबीच भएको खेलमा फेरि एक लाख १४ हजार ७ सय टिकटबाट संकलन भयो ।
आयोजक फिदिम स्पोर्टिङले आर्मीसँग प्रतिस्पर्धा गर्दा फेरि टिकट बिक्रीमा मन्दी आयो । दर्शकले आयोजकलाई साथ दिएनन् । यस खेलबाट ८३ हजारमात्र टिकट बिक्रीबाट संकलन भएको थियो ।

सुनसरी र सरस्वती युथ क्लबबीच भएको पाँचौ खेलमा एक लाख २ हजार ५ सय, छैटौ खेलमा रोयल एफसी दार्जीलिङ र ब्वाइज युनियन काठमाडौँले खेलेमा थिए । टिकट बिक्रीबाट ९७ हजार २ सय रुपैयाँमात्र संकलन भएको आयोजकले जनाएको छ ।

दुई सेमिफाइनल खेलमा भने आयोजकले टिकट दर बढाएर दुई सय कायम गर्यो । पहिलो सेमिफाइनल खेल झापा ११ ले सरस्वती युथसँग खेलेका थियो । यो खेलमा अहिलेकै सर्वाधिक एक लाख ८६ हजार ६ सय रुपैयाँको टिकट बिक्री भएको आयोजकका महासचिव तामाङले बताए ।

त्यस्तै, अन्तिम सेमिफाइनल खेलमा आर्मी र रोयल एफसीले भिडेका थिए । जसमा एक लाख ७५ हजार ७ सय टिकटबाटद संकलन भएको थियो ।

अहिलेसम्म आठ खेल सम्पन्न हुँदा आयोजकले जम्मा १० लाख २ हजार ३ सय रुपैयाँको टिकट बिक्री गर्यो । आज फेरि झापा ११ र आर्मीबीच फाइनल खेल हुँदैछ । आज भने दर्शकले आयोजकलाई नभए पनि टिकट काटेर झापा ११ को समर्थनमा मैदान प्रवेश गर्ने पक्का छ । यसअघिका खेलका आधारमा आयोजकले पनि यस्तै अपेक्षा गरेको छ ।