बिर्तामोड मेची राजमार्गको विकल्पका रूपमा इलाम सदरमुकाम–बिर्तामोड फास्ट ट्र्याक खुलेपछि इलामबासी हर्षित छन् । अहिले मेची राजमार्ग भएर बिर्तामोड पुग्नेभन्दा आधा दूरीमै त्यहाँ पुग्न सकिने भएपछि इलामको पर्यटन, कृषिलगायत सबै क्षेत्रलाई फाइदा पुग्ने भएको छ ।

अहिले मेची राजमार्ग भएर बिर्तामोड पुग्न करिब ८६ किलोमिटरको दूरी पार गर्नुपर्छ । तर, अब ४७ किलोमिटरमा गोलाखर्कबाट सोयाक, बेलासे, चिसापानी, दानबारी हुँदै पूर्व–पश्चिम राजमार्ग पुग्न सकिने भएको हो । अढाईदेखि ३ घण्टा लाग्ने मेची राजमार्गको यात्रा द्रुतमार्ग कालोपत्रे भए करिब १ घण्टामै सीमित हुनेछ ।
निर्माणाधीन यो मार्गमा भर्खरैदेखि सवारी साधन चल्न थालेका छन् । गाडी चल्न थालेपछि गाउँमा उत्पादन हुने धान, तरकारी, केरालगायत कृषिजन्य उत्पादनले पनि भाउ पाएको छ । बेलासेका वृद्ध मनबहादुर लोक्तामले घरबाट निकै टाढा पैदल पुग्नुपर्ने ठाउँमा अहिले पुग्न सजिलो भएको सुनाए । ‘फराक बाटोले आँगनै छोएर गएपछि खुसीको सीमा छैन,’ उनले भने, ‘जग्गा–जमिनको धेरै वर्ष भाउ थिएन, अब चाहिँ राम्रो मूल्यमा बिक्ने आशा छ ।’ उनले गाउँमा उत्पादन हुने अदुवा, कुचो, तरुल र तरकारीले राम्रो भाउ पाउन थालेको पनि सुनाए ।
पहाडी जिल्ला इलामका बासिन्दा किनमेलका लागि बिर्तामोड झर्छन् । जिल्लाको पूर्वीका बासिन्दालाई तराई झर्नुपरे सदरमुकाम आउन नपरेपनि पश्चिमी क्षेत्रका बासिन्दा सदरमुकाम भएरै तराई झर्थे । स्थानीय तह पुनर्संरचनासँगै सडक पूर्वाधार विकास हुन थालेपछि पश्चिमी क्षेत्रका बासिन्दा सदरमुकाम नआई सोझै तराई झर्ने सुविधा भएको छ । पाँचथर र ताप्लेजुङका बासिन्दा समेत मेची राजमार्ग छाडेर राँके–रवि हुँदै सोझै तराई झर्दा इलाम सदरमुकाम ओझेलमा पर्ने सम्भावना रहेका बेला नयाँ फास्ट ट्र्याक खुलेपछि सुविधा थपिएको छ ।
‘अब इलाम सदरमुकामबाट सबैभन्दा छिटो तराई झर्ने मार्ग यही भएको छ,’ इलाम नगरपालिका वडा ११ का सदस्य भेषराज आचार्यले भने, ‘बाटो खुलेपछि विकासका अन्य सम्भावना पनि खुलेका छन्, यो सडक पक्की बनाउन पाए इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दालाई तराई झर्न ज्यादै छिटो हुन्छ ।’ सडक खुलेपछि यो क्षेत्रमा नयाँ घर बन्ने र पसलहरू खुल्नेक्रम बढेको छ । मानिस आउ–जाउ बढेपछि गाउँमै व्यवसाय चल्ने आशाले स्थानीय हर्षित छन् ।
इलाम नगरपालिकाले यो सडकलाई कालोपत्रे गर्नेसम्मको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । सडकको ट्र्याक खुलिसकेकाले यसलाई कालोपत्रे गर्नसके इलाममा मानिसको आउ–जाउ बढ्ने र पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने नगरपालिकाका मेयर महेश बस्नेतले बताए । ‘यो सडकलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले डिपिआर बनाएको हो,’ उनले भने, ‘यो सडकलाई कालोपत्रे गर्नेसम्मको कार्यक्रम ल्याउन नगरले संघीय र प्रदेश सरकारमा पहल गरिरहेको छ ।’ ‘यसअघि निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० लाख, स्थानीय जलविद्युत् आयोजना र तत्कालीन जिल्ला विकास समितिले पनि सडकको ट्र्याक खोल्न बजेट खर्च गरेका थिए । सरकारको रणनीतिक सडक योजनामा परेको यो सडकका लागि चालू वर्ष १ करोड रुपैयाँ विनियोजन भएको छ । ‘भञ्ज्याङदेखि बेलासेसम्मको सडकलाई २३ करोड रुपैयाँभन्दा बढी लगानी हुने अध्ययनले देखाउँछ,’ मेयर बस्नेतले भने, ‘डिपिआर बनेपछि संघीय र प्रदेश सरकारले बजेट छुट्याउन सहज हुने भएकाले योजनाअनुसार बजेट आए २ वर्षमै सडक निर्माण भइसक्छ ।’ नगरले आफ्नै लगानीमा डिपिआर तयार गरेकाले माथिल्लो निकायबाट आएकोजति बजेट सडक निर्माणमै खर्च हुने उनको भनाइ छ ।
यो सडक खण्डका आधा दर्जन खोलामध्ये माईखोलामा पुल बनिसकेको छ । पुवाखोलामा बन्न बाँकी रहेपनि अन्य खोलाहरूमा कुनैमा बनिसकेको र कुनैमा ठेक्का लागिसकाले सडक निर्माण पनि द्रुत गतिमै अघि बढ्ने उनले जनाए । ‘यो सडक निर्माण भए इलामले आर्थिक विकास, समृद्धि र पर्यटनमा छलाङ मार्छ भन्ने विश्वास छ,’ मेयर बस्नेतले भने ।
इलाम नगरपालिका ११, सोयाककी मनरूपा बराइलीले झापा बिर्तामोडबाट छिट्टै घर आइपुगेपछि खुसी व्यक्त गरिन् । ‘अस्तिसम्म त्यही बिर्तामोड पुगेर आउन १ दिन माया मार्नुपथ्र्याे,’ दिउँसो साढे १ बजेतिर आफ्नो घरजनिकै बेलासेमा गाडीबाट ओर्लिएकी मनरूपा भन्दैथिइन्, ‘आँगनमै ठूलो बाटो आउला र गाडी चढेर टाढा–टाढा पुगेर छिट्टै घर फर्काैंला भनेर कल्पनासम्म गरेकी थिइनँ ।’
द्रुतमार्ग खुलेपछि उनको गाउँबाट अब इलाम सदरमुकाम आउन र झापा जान निकै छिटो भएको हो । ‘इलाम (सदरमुकाम) पुगेर आउन पनि १ दिन पूरा लाग्थ्यो, अहिले एकैछिनमा गाडीले पु¥याउँछ–ल्याउँछ,’ उनले हर्ष सुनाइन्, ‘बाटो आएपछि त गाउँ नै उज्यालो भएजस्तो हुँदोरहेछ, हिजोअस्तिसम्म अनकन्टार गाउँ अहिले हराभरा भएझैं लाग्छ ।’ सोयाकका बासिन्दालाई नजिकैको झापा पुग्न पनि इलाम सदरमुकाम आउनुपर्ने बाध्यता थियो । बाटो खुलेपछि बिर्तामोड पुग्न १ घण्टाजति मात्रै लाग्न थालेको उनले सुनाइन् ।
दानबारी गाउँका धनबहादुर लिम्बूलाई पनि यो सडक नखुलुञ्जेल सदरमुकाम आउनै टाढा लाग्थ्यो । बेलासे भन्ने स्थानमा पुल र फास्ट ट्र्याक बनेपछि उनलाई अहिले सदरमुकाम नजिकै लाग्छ । ‘सानो कामका लागि इलाम बजार जानुप¥यो भने पनि दिन जान्थ्यो,’ उनले भने, ‘अहिले त मिलिक्क गयो, आयो । निकै सजिलो भएको छ ।’
छोटो दूरीमै इलाम र पूर्व–पश्चिम राजमार्ग जोडिने भएपछि यातायात व्यवसायी पनि खुसी छन् । पूर्वेली जीप तथा ट्याक्सी प्रालि अध्यक्ष गृष्म सुब्बाले छोटो दूरीमा सवारी चलाउँदा व्यवसायी र यात्रु दुवैलाई सहज हुने भएकाले यो फास्ट ट्र्याक महŒवपूर्ण रहेको बताए । ‘यात्रामा समय छोटो लाग्ने मात्र होइन, सडक छोटो भए इन्धन बचत हुन्छ, यात्रुलाई पनि सहज हुन्छ,’ जनप्रतिनिधिसमेत रहेका सुब्बाले भने, ‘इलामको चौतर्फी विकासमा यो फास्ट ट्र्याकले सघाउँछ ।’