दिपक बोहोरा
पाँचथर जिल्ला फुटबल गतिविधिमा चलायमान जिल्ला हो । वर्षमा तीन वटा ठुला गोल्डकप प्रतियोगिता हुने गरेको छ । अघिल्लो पुुुसमा फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको फाल्गुनन्द गोल्डकपकको नवांै संस्करण सम्पन्न भयो । चैत अन्तिम सातामा पाँचथर क्लबले पाँचथर गोल्डकपको दोश्रो संस्करण भयो । वैशाखमा रानीगुफा सेवा समितिको आयोजनामा कुम्मायक कुसायक गोल्डकप भयो । रबिमा त्यही बेला रबि गोल्डकप पनि भयो ।

हिँउद लागेसँगै गाउँ गाउँमा फुटबलब प्रतियोगिताहरु भइरहेका हुन्छन् । अहिले पनि दिनैपिच्छे जस्तो फुटबल प्रतियोगिताहरु भइरहेको छ । यतिका फुटबल प्रतियोतिाहरु भइरहेको जिल्ला र वर्षमा दुई वटा ठुला गोल्डकप आयोजन गर्ने जिल्लालाई अरु जिल्लामा हुने गोल्डकपमा टिमको स्तर राम्रो नभएको भन्दै सहभागी समेत गराइँदैन । छिमेकी जिल्लाहरु ताप्लेजुङ, इलाम, झापा लगायतका जिल्लाहरुमा प्रतिष्ठित फुटबल प्रतियोगिताहरुमा पाँचथरले सहभागिता पाउनु नै आकासको फल हुने गरेको छ ।

यतिका फुटबल प्रतियोगिताहरु भए पनि जिल्लाको फुटबल टिम भने कमजोर नै रहेको छ । अघिल्लो पुसमा भएको नवौं फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोर्टिङ क्लब पहिलो खेलमा नै बिर्ता युनाइटेङ झापासँग ७–० को लज्जास्पद हार व्यहोरेको थियो । यस वर्षको दशौं संस्करणको फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोर्टिङ क्लबले विदेसी खेलाडीहरुको सहयोगमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

जिल्लामा खेलाडी छनौटमा नै राम्रो नहुने गरेको जानकारहरु बताउँछन् । राम्रालाई भन्दा हाम्रालाई छनोट गर्दा समस्या सिर्जना भएको मिक्लाजुङ २ का पूर्ण थेगिमले बताए ।

गाउँका दूरदराजमा राम्रा राम्रा फुटबल खेलाडीहरु भए पनि सदरमुकाम फिदिमका खेलाडीहरुलाई मात्र अबसर दिँदा जिल्लाको फुटबल माथि उठ्न नसकेको जिल्लाको फुटबललाई नजिकबाट नियालिरहेका खेल विशलेषक सगुन सुसाराले बताए ।
जिल्ला फुटबल संघ भने फुुटबलमा केन्द्रले राम्रो सहयोग नगरेको जिकिर गर्ने गरेको छ । नवनिर्वाचित अध्यक्ष सुजन नेम्बाङले जिल्लामा फुटबल विकासको लागि रकम नै कम आउने गरेको बताए । प्रशिक्षण गराउनेलगायतको खर्चको अभावले राम्रो टिम उत्पादन गर्न नसकेको उनको भनाइ छ ।

महिला फुटबलको बिजोक
कुनै बेला महिला प्रतियोगिताहरुमा निकै राम्रो मानिने पाँचथर पछिल्लो दिनहरुमा कमजोर खेल प्रर्दशन गरिरहेको छ । अघिल्लो वर्ष स्याङजामा भएको महिला लिगमा समेत पहिलो चरण समेत पार गर्न नसकी लज्जास्पद पराजय भोग्यो । एक वर्ष अगाडि पूर्वाञ्चलमा भएको सातौँ राष्ट्रिय खेलकुदमा पनि पाँचथरको महिला टिम सहभागितामा सीमित रह्यो । स्याङजामा पहिलो खेल रौतहटसँग १५–० ले गुमाएको पाँचथरले दोश्रो खेल धनकुटासँग १–० ले पराजित भयो । स्याङजासँग १६–०ले पराजित भयो ।

२०५३ सालबाट विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउन थालेको पाँचथरको महिला फुटबल टिमसँग गर्विलो इतिहास रहेको छ । २०६२ सालमा भएको राष्ट्रिय महिला फुटबल प्रतियोगितामा दोश्रो भएको पाँचथर २०६३ सालमा भएको अन्तर विद्यालय महिला फुटबल प्रतियोगितामा प्रथम भएको इतिहास छ ।

पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सेमिफाइनलसम्म पुगेको पाँचथरको महिला टिम त्यस पछाडिका प्रतियोगितामा केवल सहभागितामा सीमित हुने गरेको छ ।