खुदुनाबारी । दुई दशक लामो समय शरणार्थी जीवन बिताएका भूटानी शरणार्थीहरुको स्मृतिमा अर्जुनधारा ३ स्थित कैदलेमा पार्क बन्ने भएको छ ।

शरणागत जीवन उनीहरु क्रमिकरुपमा विभिन्न मुलुक गए पनि उनीहरुको स्मृतिमा स्थानीय सामुदायिक वनको पहलमा पार्क बन्ने भएको हो । कैदले वन क्षेत्रमा शनिबार संघीय सांसद एवम् अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले शिलान्यास गरिन् । पार्कको नाम शरणार्थी स्मृति पुष्प बगैँचा राखिएको छ ।

हाल १० कठ्ठा क्षेत्रफलमा २ सय मिटर लम्बाइ र १६० मिटर चौडाइको उक्त पार्कको मध्य भागमा २० फिटको स्मृति स्तम्भ रहनेछ । अहिले २५ लाख रुपैयाँबाट काम अघि सारिएको बताइएको छ ।

शिलान्यासपछि बोल्दै सांसद खरेलले आन्तरिक पर्यटकको केन्द्र विन्दूको रुपमा विकसित गर्नका लागि सबै मिलेर लागिपर्नु पर्नेमा जोड दिइन् । उनले सांसद कोषबाट थोरै भए पनि पार्कका लागि रकम विनियोजन गरेको बताइन् । आप्mनो निर्वाचन क्षेत्रमा नयाँ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भित्री इच्छा भएबमोजिम भावी दिनमा पार्कका लागि थप सहयोग गर्ने बताइन् । सदियौँ वर्ष हेर्नलायक पार्क बनाउनका लागि गुरुयोजना बनाउन आग्रह गरेकी उनले पर्यटन क्षेत्र पनि आर्थि उपार्जन गर्ने एउटा माध्यम भएको सुनाइन् ।

कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानामगरले पार्क नगरको गौरव भएको उल्लेख गर्दै सबैले क्षमताअनुसारको सहयोग गर्न नसके पर्यटकीय क्षेत्रको रुपमा विकास हुन नसक्ने बताए । संविधानसभा सदस्य प्रेम गिरीले पार्क निर्माणका लागि विदेशमा रहेका भूटानी शरणार्थीहरुले पनि आश्वासन दिएको बताए ।

त्यस्तै, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिव्य कट्टेलले पार्कको निर्माणले पर्यापर्यटनमा विशेष टेवा पु¥याउने उल्लेख गरे । पार्कको निर्माण कार्य वन समितिले गर्ने बताइएको छ ।