अर्जुनधारा, झापा । झापाको नमुना सामुदायिक वनको खेल मैदानमा शुक्रबारदेखि सुरु एक नम्बर प्रदेशस्तरीय सुखानी सहिद स्मृति गोल्डकप महिला फुटबल प्रतियोगितामा पारिजात महिला एफसी झापाले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा धनकुटा जिल्ला फुटबल संघलाई ४–० गोलले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । पारिजातका लागि संरचना श्रेष्ठले ह्याट्रिक पूरा गरिन् । थप गोल सम्झना लावतीको नाममा रह्यो ।

खेलको २ मिनेटमै सम्झना लावतीले गोल गरेर अग्रता दिलाएको पारिजातका लागि ४, २४ र ३४ मिनेटमा गोल गर्दै संरचनाले ह्याट्रिक पूरा गरिन् । उनी खेलको वुमन अफ दी म्याच घोषितहुँदै नगद २ हजार पाइन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेको गोल्डकपको फाइनल खेल माघ २५ गते हुनेछ । विजेताले एक लाख एक हजार र उपविजेताले ५१ हजारसहित ट्रफी पाउने आयोजकले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश नं.१का सांसद् अर्जुन राई, पूर्व सांसद् मनकुमार गौतम, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार राना, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्कालगायतको आतिथ्यता रहेको थियो ।

यसैबीच, भारतको उडिसामा फेब्रअरी ७ तारिखदेखि हुने फोर्थ नेसन वूमन फुटबल च्याम्पियनसीपमा सहभागी हुने राष्ट्रिय महिला फुटबल टिमको टोलीलाई मन्त्री विश्वकर्माले विदाईसहित विजयको लागि शुभकामना व्यक्त गरेका थिए ।
प्रतिष्ठानका सदस्य एवम् प्रदेश नं.१का सांसद् वृख प्रधानले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव हर्कराज राईले गरेका थिए ।

“शहीदहरुको सम्मान, महिला खेलाडीहरुलाई प्रोत्साहन” भन्ने मुख्य नारासहित स्थानीय सुखानी शहीद स्मृती उद्यान व्यवस्थापन समितिको व्यवस्थापनमा आयोजित प्रतियोगितामा शनिबारको खेल कनकाई नगर खेलकुद समिति (झापा) र लेटाङ फुटबल क्लब (मोरङ)बीच हुने प्रतिष्ठानका व्यवस्थापक पूष्पलाल तिवारीले जानकारी दिए ।