अर्जुनधारा, झापा । खेलकुद संघमा देखिएका विवाद नसुल्झिएसम्म आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी नगराइने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन् ।

झापाको शनिश्चरेमा शनिबार बिहान कराते खेलाडीको जुनियर ग्रेडिङमा आएका मन्त्री विश्वकर्माले संघले विवाद समाधान गर्न नसके सहभागी गराउन नसकिने मन्त्रालयको निर्णय भइसकेको उनले दोहो¥याए । मन्त्री विश्वकर्माले विवादका कारण खेलकुद क्षेत्रमा एकभन्दा बढी संघ निर्माण हुनेतर्फ संकेत गरे ।

राष्ट्र समृद्धिका लागि खेलकुद क्षेत्रको विकास आवश्यक भएको हुँदा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्नुको विकल्प नभएको पनि उनले दाबी गरेका छन् ।

खेलकुद क्षेत्रका लागि आवश्यक पूर्वाधारहरु निर्माणको कार्यलाई चक्रीय प्रणालीअनुसार सातै प्रदेशमा प्रत्येक दुई वर्षमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताको सन्दर्भमा निर्माण गर्ने लक्ष्य सरकारको रहेको उनले बताए ।

अन्तरराष्ट्रिय खेलमा स्वर्ण पदक विजेता खेलाडीलाई आजीवन मासिक पाँच हजार रुपैयाँ र ओलम्पियन खेलमा सहभागी हुने खेलाडीलाई मासिक तीन हजार रुपैयाँ भत्ता उपलब्ध गराउन शुरु गरेको सरकारले चालु आर्थिक वर्षदेखि खेलाडीको स्वास्थ्य र दुर्घटना वीमाको समेत व्यवस्था सुरु गरेको उनले बताए ।