इटहरी । विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मनाङ–मस्र्याङ्दी क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै आर्मीले जारी सिजनमा दोस्रो उपाधि उचाल्न सफल समेत भयो ।

शनिबार सम्पन्न फाइनल खेलमा आर्मीलाई च्याम्पियन बनाउन टंक बस्नेत र कप्तान भरत खवासले गोल गरे । इटहरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको पाँचौ मिनेटमा टंक बस्नेतले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

मैदानको मध्यभागबाट एक प्रयासमा टंकले दुई डिफेन्डरलाई बिट गर्दै सुन्दर गोल गरेका थिए । त्यसपछि दुवै टोेलीले गोल गर्ने प्रयास गरेपनि गोल गरेपनि पहिलो हाफमा आर्मीले १–० को अगता लिन सफल भयो ।

७०औं मिनेटमा मनाङ १० खेलाडीमा समेटियो । मनाङका ओलावाले आफिजले आर्मीका गोलरक्षक विकेश कुथुलाई फल गरेपछि रेफ्री सुदिश पाण्डले रातो कार्ड देखाउदै मैदान बाहिर पठाए । त्यसपछि आर्मीले त्यसको फाइदा उठाउँदै अर्को गोल गर्दै आर्मीलाई उपाधि पक्का गर्यो । आर्मीका कप्तान भरत खवासले इन्ज्युरी समयमा गोल गर्दै आर्मीलाई २–० को जित दिलाए ।

यससँगै आर्मीले यो सिजन तीन फाइनल खेल्दै दोस्रो उपाधि जित्न सफल भयो । वीरगन्जमा भएको विशाल मेमोरियल गोल्डकप जितेको आर्मी त्यसपछि रुस्लान सिमरा गोल्डकपको फाइनलमा रुस्लान थ्री स्टारसँग चुकेको थियो । यता, लिग च्याम्पियन तथा साविकको उपविजेता मनाङ लगातार दोस्रो संस्करणमा पनि उपविजेतामा सीमित बन्न पुग्यो । मनाङ सिजनको पहिलो उपाधि जित्नबाट वञ्चित रह्यो ।

च्याम्पियन बनेसँगै आर्मीले १६ लाख रुपैया हात पार्यो । दोस्रो भएको मनाङले ८ लाख रुपैयाँमा चित्त बुझायो । राष्ट्रिय जागृति युवा क्लबको आयोजनामा १२ माघबाट शुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।