अर्जुनधारा,झापा। एकीकृत पर्यापर्टन तथा सिमसार व्यवस्थापन समिति झापाको आयोजनामा गत शनिबारदेखि शुरु भएको विश्व सिमसार दिवस सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ ।
मेचीनगरस्थित बाँसबारी सामुदायिक वन उपभोक्ता समूहमा उद्घाटन गरी शुरु भएको उक्त कार्यक्रम अर्जुनधारा–१स्थित हलुवागढ–कालिखोला पर्यापर्यटन सिमसार क्षेत्रमा आज विविध कार्यक्रम गरी सम्पन्न भएको हो ।
समितिका अध्यक्ष खेमराज सिटौलाको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, झापा जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष वेदप्रकाश भण्डारी, नगर महासंघका अध्यक्ष दिव्यप्रसाद कट्टेल, हलुवागढ सामुदायिक वन उपभोक्ता समूहकी सल्लाहकार सरस्वती सिटौला गोलेलगायतले वातावरण र जैविक विविधता संरक्षणमा सिमसारको महत्वको विषयमा धारणा व्यक्त गरेका थिए ।
हलुवागढ सामुदायिक वन उपभोक्ता समूह र हलुवागढ–कालिखोला पर्यापर्यटन सिमसार क्षेत्रको संयोजन रहेको कार्यक्रमको सञ्चालन समितिकी सचिव जानुका ओली र समूहका सचिव रंगालाल मिश्रले गरेका थिए ।
समितिले सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सामुदायिक वनहरुमा सरसफाई कार्यक्रम, भद्रपुरस्थित दियालो सामुदायिक वन उपभोक्ता समूहमा कार्यक्रम सम्पन्न गरेको समितिकी सचिव ओलीले जानकारी दिइन् ।
हाल झापाको ५९ वटा सामुदायिक वनमध्ये २१ वटा सामुदायिक वनले सिमसारको अवधारणा लागू गर्दै कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ । प्रत्येक फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस झापाले गत वर्षदेखि मनाउन शुरु गरेको हो ।