झापा । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जुडोकी देविका खड्का झापा स्पोर्टस् अवार्ड २०७४ बर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च झापाले शनिबार साँझ बिर्तामोडमा गरेको दोस्रो संस्करणको ‘झापा स्पोर्टस अवार्ड—२०७४’ मा नवयुगले उत्कृष्ट पुरुष खेलाडी र देविकाले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड चुमेका हुन् ।

नवयुगले फुटबलका विशाल राई बी र अनन्त तामाङलाई पछि पार्दै अवार्ड हात पारे । उनीहरु तीनै जना राष्ट्रिय टोलीका सदस्य हुन् । श्रेष्ठ इलामका हुन् भने राई र तामाङ झापाका हुन् ।

त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (महिला) तर्फ जुडोकी देविका खड्का घोषित भइन् । खड्काले कराँतेकी एस्तर राई र फुटबलकी अन्जिला तुम्बाफो सुब्बालाई पछि पार्दै अवार्ड हात पार्न सफल भएकी हुन् । एपिएफका देविका र एस्तर झापाका हुन् भने अन्जिला महिला फुटबल राष्ट्रिय टोलीकी गोलरक्षक इलामकी हुन् । उत्कृष्ट खेलाडी बनेका नवयुगले यामाह कम्पनीको मोटरसाइकल र देविकाले स्कुटी प्राप्त गरे ।

त्यस्तै, लाइफटाइम अचिभमेन्ट अवार्डबाट ताप्लेजुङका भलिबल प्रशिक्षक तेजप्रताप पतङ्वा सुब्बा सम्मानित भएका छन् । उनलाई नगद ३५ हजार रुपैयाँसहित सम्मानित गरिएको छ । साथै उनले इस्ट होराइजन स्कुलको तर्फबाट नगद १० हजार रुपैयाँ समेत प्राप्त गरे ।

स्व. आशिषविक्रम नेम्वाङप्रति समर्पित अवार्डमा वर्ष उत्कृष्ट युवा खेलाडीतर्फ एथलेटिक्सका प्रकाश दुनावार (झापा) घोषित भए । उनले एथलेटिक्सकै सविता कार्की (ताप्लेजुङ) र फुटबलकी सम्झना लावती (झापा) लाई पछि पारे । त्यसैगरी, वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका विरु श्रेष्ठ अवार्ड प्राप्त गर्न सफल भए । यस विधामा जुडोका गंगा खड्का र बक्सिङका डम्बर लिम्बू मनोनयनमा परेका थिए । उनीहरु सबै झापाका प्रशिक्षक हुन् ।

पिपुल्स च्वाइज प्लेयरको अवार्ड फुटबलका देवेन्द्र तामाङले हात पारे । उनी झापा ११ का डिफेन्डर हुन् । उत्कृष्ट युवा, प्रशिक्षक र पिपुल्स च्वाइज प्लेयरलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

पुरस्कार राशि एन्फाका उपाध्यक्ष पंकजविक्रम नेम्बाङले प्रदान गरेका हुन् भने मोटरसाइकल र स्कुटी झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले प्रायोजन गरेका हुन् । गत वर्ष झापाका खेलाडीलाई मात्र केन्द्रित गरेर प्रदान गरिएको अवार्ड यस वर्षबाट मेची अञ्चल भरिका खेलाडी तथा प्रशिक्षकलाई समेटिएर अवार्ड वितरण कार्यक्रम राखिएको थियो ।