काठमाडौं । सोमबार हिरो गोल्डकपतर्फ आफ्नो दोस्रो खेलमा नेपालले आयोजक भारतलाई २–१ ले हराउँदै ऐतिहासिक जित समेत दर्ता गर्यो ।

गोलनेपालका अनुसार अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले भारतलाई हराएको यो पहिलोपल्ट हो । नेपालले यो ऐतिहासिक उपलब्धी पूर्व राष्ट्रिय कप्तान तथा फरवार्ड हरि खड्काको प्रशिक्षकीय जिम्मेवारीमा हात पार्यो ।

सोमबार भुवनेश्वर स्थित कालिंगा स्टेडियममा भारतलाई हराएपछि निकै खुशी देखिएका प्रशिक्षक खड्काले आफूहरुले भारतलाई उसकै घरमा हराउने लक्ष्य लिएको र त्यो लक्ष्य पूरा भएको प्रतिक्रिया दिए । साथै उनले त्यो ऐतिहासिक जितमा खेलाडीहरुको पनि खुलेर प्रशंसा गरे ।

रोचक कुरा त विश्व फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरियतामा नेपाल १०६ औं स्थानमा छ भने भारत निकै माथि ६२ औं स्थानमा रहेको छ ।